एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : प्रदेश २ को मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले संघियता पछि संघ सरकारले पहिलो गाँसमै ढुङ्गा पारिदिदा काम गर्न नसकिएको बताएका छन् । राष्ट्रिय योजना आयोगले जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय क्षमता विकास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले संघिय प्रणालीलाई संस्थागत गर्न प्रदेश सरकार बनाइएपनि प्रदेश सरकारलाई सफल हुन नदिन सुरु देखिनै असहयोग भइरहेको बताएका छन् ।

पछिल्लो चरणमा अनुभवी र क्षमतावान सचिवहरु पठाउने गरिएको भएपनि सुरुमा त काम हुन नदिनकै लागि त्यस प्रकारको कर्मचारी पठाउने गरेको आरोप लगाएका छन् । यद्यपि मुख्यमन्त्री राउतले चार वर्ष भन्दा बढिको संर्घषपुर्ण कार्यकालमा आफनो क्षमताले भ्याए बमोजिम संघियताका मुल मर्म समानुपातिकता, समावेशीता र जंनसंख्याको आधारमा पहुँचका लागि आफुहरुले काम गरेको र यस्को परिणाम दश पन्ध्र वर्ष पछि देखिने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसाद, प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश २ का मुख्य सचिव हरि प्रसाद मैनाली सहितको उपस्थिती थियो ।