एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार धनुषामा पनि चक्काजामको घोषणा गरेको छ । सिरहामा जारी आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत चक्काजाम गर्ने निर्णय गरिएको जनमत पार्टी धनुषाले विज्ञप्ती मार्फत जनाएको छ ।
पार्टीले मंगलबार साँझ जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस निकाल्ने र बुधबार जिल्लाभर चक्काजाम गर्ने सो पार्टीका धनुषास्थित आन्दोलन समितिका दिपनारायण यादवले बताए । यद्यपि विद्यालय, एम्बुलेन्स र प्रेस सहितका गाडीहरुमा कुनै पनि अवरोध नगर्ने जनमत पार्टी धनुषाले जनाएको छ ।
सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको विऊ किसानले लुटपाट गर्दा प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टी आन्दोलित बनेको छ । सोही क्रममा भएको झडपमा अहिले सिरहामा निषेधाज्ञा लगाइएको छ भने जनमत पार्टीका कार्यकर्ताहरुलाई नियन्त्रणमा समेत लिइएको हो । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र रिहा नगरिए सिरहाका प्रहरी प्रमुख हिरा बहादुर पाण्डेलाई जनकारवाही गर्ने धम्की समेत दिएका छन् ।