एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : प्रदेश २ को नाम र राजधानीका विषयमा सहमति गर्न प्रदेश सभाले विशेष समिति गठन भएको छ । सभामुख सरोज यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी संसदीय अध्ययन विशेष समिति गठन गरिएको छ ।
समितिको सदस्यमा उपेन्द्र कुशवाहा, किशोरी साह ‘कमल’, जगत प्रसाद यादव, दिलिप साह, परमेश्वर साह, बिन्देश्वर यादव ‘बिक्की’, शत्रुधन महतो, शारदा थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, सञ्जय यादव, सावित्री देवी साह, सुन्दर बिक र सुरिता साह छन् । समितिले प्रदेशको नाम र स्थायी राजधानीबारे दर्ता भएको प्रस्तावको अध्ययन गरी छलफल र अन्तर्क्रिरया गर्ने सभामुख सरोज यादवले बताए ।
प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र राजधानीबारे २ वटा प्रस्ताव दर्ता भएको छ । यो समितिले राजनीतिक सहमतिको आधारमा प्रदेशको नाम र राजधानी तय गर्न सबै सरोकारवालासँग छलफल गर्नेछ । समितिले १५ दिनभित्र प्रदेशसभामा प्रतिवेदन बुझाउने सभामुख यादवले बताए ।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ । त्यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेको छ । नेपाली कांग्रेसले मिथिला–भोजपुरा नामाकरण प्रस्ताव गरेको छ । त्यस्तै कांग्रेसका केही सांसदहरुले मध्यमधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।
तर सर्वसधारणले भने समितिको गठन नौटंकी रहेको बताउछन् । दुई तिहाइ सांसद सहितको गठबन्धन सरकार रहेपनि नाम र राजधानीमा अवरोध कहाँ छ प्रश्न गर्दै उनीहरु बजेट खान समिति बनाइएको बताउछन् । शिर्षकमा सरकार भन्नाले सरकारमा आवद्व दुईतिहाई सांसदहरुलाई संकेत गरिएको छ ।