एसपी रिपोर्टर
जनकपुरधाम, पुष ८ : प्रदेश नम्बर–२ को बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि चारवटा प्रस्ताव पेश भएको छ । विहिवारको बैठकमा जसपा लोसपा र माओवादी केन्द्रको तर्फबाट एउटै नाम ‘मधेश प्रदेश’, को प्रस्ताव आएको छ भने नेकपा एमाले र नेकपा समाजवादीको तर्फ बाट ‘जानकी प्रदेश’, को प्रस्ताव आएको छ । एमालेले भने भोली मात्र प्रस्ताव दर्ता गराउने भएका छन् । नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ प्रदेश नाम प्रस्ताव गरेको छ भने केहि सांसदहरुले मध्यमधेश प्रदेश’ नाम प्रस्ताव गरेको छ ।
मधेश प्रदेशको पक्षमा माओवादीको समर्थन थपिदा अव तिन दलको एउटै नाम मधेश भएको छ । प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेशको प्रस्ताव पेश गरेका छन् । जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एकिकृत समाजवादीको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेश गरेका हुन ।
नेकपा एमालेले भने प्राविधिक कारणवस आफनो जानकी प्रदेशको प्रस्ताव आज पेश गर्न सकेन । दलका नेता सत्यनारायण मण्डलले आफुहरु पुर्ववर्ती जानकी प्रदेशकै पक्षमा रहेको भन्दै भोली प्रस्ताव पेश हुने बताए । राजधानीको सवालमा अधिकांश प्रदेशसभा सदस्यहरु जनकपुरधामलाई समर्थन गर्ने भएका छन भने पर्साका केहि प्रदेशसभा सदस्यले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने माग गरेका छन् ।
प्रदेश सांसदहरु अभिराम शर्मा, डा. रिना यादव, सुरिता साह, सुन्दर विश्वकर्मा, करिमा बेगम, भिमा रावल, ज्ञानेन्द्र कुमार यादवल गायतकाले स्थायी राजधानी र प्रदेशको नामाकरण सम्बन्धी छलफलमा भाग लिएका छन् ।