एसपी रिपोर्टर
जनकपुरधाम, पुष ८ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रदेश कार्यसमिति चयनका लागि मतदान जारी छ । विहान आठ बजे देखि हुने भएको मतदान विहान ९ बजेर ४० मिनेटमा सुरु भएको हो । सभापतीका उम्मेदवार कृष्ण प्रसाद यादवले पार्टीका केन्द्रिय सभापती शेरबहादुर देउवाको नाम जोडेर भ्रामक म्यासेजहरु पठाउने काम सुरु भएको जानकारीमा आएको र मतदातालाई मतदान गर्दा मोबाइलको प्रयोग गराउन सक्ने सम्मको षडयन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
संस्थापन पक्षका उपसभापती उम्मेदवार प्रदेश २ का मन्त्री बिरेन्द्र सिंहले पनि मोबाइल प्रयोग हुन सक्ने सुचना आएकाले सचेत रहनु पर्ने बताए । आन्तिरक मतदान स्वस्थ्य र निश्पक्ष हुन आवयश्क रहेको उनको भनाई छ । अर्का उम्मेदवार रामसरोज यादव समुहले भने गृहमन्त्री खाँड जनकपुरधाममै रहेकाले आफुहरु धाँधलीको आशंका व्यक्त गरिरहेका छन् ।
मतदानको सुरुमा सर्व प्रथम सभापतीमा क्रम संख्या १ भएका संस्थापन पक्षका उम्मेदवार कृष्ण प्रसाद यादवले मतदान गरेका छन भने उनका प्यानलको उपसभापतीको उम्मेदवार प्रदेश २ का महिला वालवालिका मन्त्री बिरेन्द्र सिंहले दोस्रो मतदान गरेका छन् । त्यसपछि सभापतीका अर्का उम्मेदवार कोइराला समुहका राम सरोज यादवले मतदान गरेका छन् । हँसिलो मुद्रामा मतदान गरेका दुवैजना स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्व चयन गरि कांग्रेसलाई एक ढिक्का बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् ।