एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : विकास पुरुष भनेर चिनिने स्वर्गीय मकेश्वरप्रसाह सिहंको ११ औँ स्मृति दिवस मनाइएको छ । स्वर्गीय सिंहको स्मृति दिवसमा मंगलबार मकेश्वर बाबु सामाजिक प्रतिष्ठानले जनकपुरधाममा श्रद्धाञ्जलीसभा गरेको हो । सभामा सहभागीहरूले स्वर्गीय सिंहले जनकपुरधामको विकासमा पु¥याएको योगदानको चर्चा गरेका छन् ।
कार्यक्रममा प्रदेश २ का सांसद् रामअशिष यादवले स्वर्गीय सिंहले जनकपुरधामको स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । कार्यक्रममा जनकपुरधामका पूर्वमेयर बजरंगप्रशाद साहले मकेश्वर बाबु प्रेरणाको स्रोत भएको बताउनुभयो ।
उहाँले आधुनिक जनकपुरधामको निर्माणमा करिब ६० वर्षसम्म सामाजिक सेवामा प्रतिबद्ध मकेश्वर बाबुले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रितेशकुमार सिंहले पछिल्लो समय सामाजिक सेवाका नाममा विकृतिहरू देखिन थालेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
सफल समाजसेवीका रूपमा चर्चित स्वर्गीय मकेश्वर सिंहले जनकपुरधामका धरोहरहरू अञ्चल अस्पताल, आँखा अस्पताल, रेडक्रस सोसाइटी, राराब क्याम्पस, अपाङ्ग संघ, सुस्त मनिस्थिति केन्द्र, सरस्वती, कन्या माविसहित दर्जनौ संस्थाहरूको संस्थापक भई जनकपुरधाम निर्माणमा योगदान दिनुभएको थियो ।
सिंहको जन्म १९८३ मा भएको थियो । २०३७ सालको जनमत संग्रहपछि वनमन्त्री बनेका सिंह २०२६ सालमा जानकी मन्दिर प्राङ्गनमा राजा महेन्द्रको प्रतिमा तोडफोड घटनामा जेलसमेत जानु परेको थियो । उहाँको २०६७ साल पुष ६ गते निधन भएको थियो ।
काव्या अस्पताललाई प्रतिष्ठानको सम्मान
कार्यक्रममा प्रतिष्ठानले जनकपुधामस्थित काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहलाई ५१ सय राशीसहित मकेश्वर बाबु सामाजिक प्रतिष्ठान पुरस्कारबाट सम्मान गरेको छ । यस क्षेत्रका जनताका लागि स्वास्थ्य क्षेत्रमा आधुनिकता ल्याएवापत् र गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएवापत् काव्या अस्पताललाई सम्मान गरिएको हो ।