एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : मिथिलाको भाषा, साहित्य, कला, संस्कृति, खेलकुद तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेको जनकपुरधामको रामानन्द युवा क्लबले आज दुई जना श्रष्टालाई पुरस्कृत गरेको छ । क्लबको ३६ औँ वार्षिकोत्सव अवसर पारेर आज जनकपुरधाममा आयोजीत समारोहमा भाषा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुरयाएको भन्दै साहित्यकार एवं पूर्व सांसद महेन्द्र कुमार मिश्रलाई विद्यापति स्मृति साहित्य पुरस्कार र चर्चित हास्य महिला कलाकार रिना यादवलाई सरस्वती राजनारायण प्रतिष्ठान कला पुरस्कार प्रदान गरिएको छ ।
मिश्रले पाएको विद्यापति स्मृति पुरस्कारमा नगद राशी १५ हजार, सम्मान पत्र तथा दोसल्ला रहेको छ भने यादवले पाएकी सरस्वती राजनारायण प्रतिष्ठान कला पुरस्कारमा २१ हजार नगद, सम्मान पत्र तथा दोसल्ला रहेको छ । दुवै पुरस्कृत व्यक्तिहरूलाई प्रदेश नंं २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो तथा लोसपाका नेता तथा प्रदेश सांसद परमेश्वर साहले दोसल्ला ओढाएर पुरस्कृत गरेका छन् ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेको भन्दै वरिष्ठ पत्रकार रामभरत साह, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य गायत्री मिश्र तथा अप्पन टेलिभिजनका पुरन साहलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा कोरोना कालमा गरिब तथा विपन्न वर्गका व्यक्तिलाई विशेष राहत प्रदान गर्नुभएका क्लबका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायी दीपेन्द्र ठाकुर सहित अन्य पुर्व अध्यक्षहरुलाई पनि दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । समाजसेवी तथा श्री जानकी आँखा अस्पतालका अध्यक्ष गंगाराम यादवले क्लवको योगदानको प्रशंसा गरेका थिए । रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस जानकी आँखा अस्पतालका अध्यक्ष यादव, पुरस्कृत व्यक्तित्वहरू महेन्द्र कुमार मिश्र, रिना यादव, क्लबका पूर्व अध्यक्षहरू अमरचन्द अनिल, दीपेन्द्र ठाकुर, जिवनाथ चौधरी, अनिल मिश्र, नविद मिश्र, अशोक दत्त सहितका वक्ताहरूले शुभकामना दिएका थिए ।