एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ : लोसपाको विरोधको बाबजुद प्रदेश २ को प्रदेशसभामा सरकारको तर्फबाट दुईवटा अध्यादेशहरु पेश भएको छ भने सबैको चासोको विषय आज पेश हुने भनिएको प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रस्ताव कार्यसुचीबाटै हटाइएको छ ।
सरकारको तर्फबाट सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेपछि प्रदेशसभाको अर्को बैठक पुष ८ गते विहिवार सम्मका लागि स्थगित भएको सभामुख सरोज कुमार यादवले घोषणा गरेका छन् । सभामुख यादवले नेपाली कांग्रेसका सांसदहरु महाधिवेशनका लागि काठमाण्डौंमा रहेको र आफुहरुको महाधिवेशन पछि मात्र नाम र राजधानीको प्रस्ताव ल्याउन आग्रह गरेकाले सो प्रस्ताव कार्यसुचिबाट हटाइएको बताए ।
आज राजधानी सम्बन्धमा प्रस्ताव पेश हुने र त्यसमा छलफल हुने सुची रहेपनि प्रदेश सभा र सरकारको दोस्रो ठुलो दल कांग्रेसको अनुपस्थितीमा छलफलको औचित्य नरहेको सभामुखको भनाई छ । एता अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा भने विरोधकै बीच अध्यादेश पेश गर्न दिए ।
लोसपा प्रदेश सांसद तथा सचेतक परमेश्वर साहले आफूहरुको विरोधका बाबजुद अध्यादेश पेश गरिएको बताउदै चलिरहेको प्रदेश सभालाई बन्द गरी अध्यादेश ल्याएर सरकारले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको भन्दै आफूहरुको विरोध निरन्तर रहने बताए । त्यसअघि बुधवारकै सभामा विशेष समयमा बोल्दै मुख्यमन्त्री राउतले प्रद्येश २ को नाम र राजधानीको छिट्टै निश्कर्ष लाग्ने बताएका थिए भने प्रतिपक्षी लोसपाका नेता जितेन्द्र सोनलले गठबन्धनको सरकार भएपनि नाम र राजधानी तोक्न नसक्ने र प्रदेश सभा बन्द गरि अध्यादेशबाट सरकार चलाउने मुख्यमन्त्री राउतको राजिनामा मांग गरेका थिए ।