एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २५ : नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन एकैसाथ सातवटै प्रदेशमा सुरु भएको छ । अन्य प्रदेशहरुको सदरमुकाम जस्तै प्रदेश २ को सम्मेलन जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा चलिरहेको छ । सभाहल भरिभराउ छ । प्रदेश २ अध्यक्ष प्रल्हाद बुढाथोकी प्रदेश २ ईन्चार्ज गणेश साह सहित स्थाई कमिटि सदस्य गिरीराजमणी पोखरेल, प्रदेश २ का संसदीय दलका नेता भरत साह सहितको उपस्थितीमा सम्मेलन जारी छ ।
भर्चुुअल रुपमा भइरहेको देशकै सवै प्रदेशको प्रदेश सम्मेलनको अध्यक्षता भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै गरिरहेका छन् । काठमाण्डौंबाट अध्यक्षता गर्दै प्रचण्डले प्रदेशहरुमा पार्टीलाई कसरी अगाडि बढाउने बारे चिन्तनशिल नेतृत्व चयन गर्न शुभकामना सहित भगौलिक सात र गैर भगौलिक ३ गरि १० मध्ये ९ प्रदेशको सम्मेलनको एकैसाथ समुदघाटन गरिएको छ ।
पार्टीका प्रदेश २ अध्यक्ष प्रल्हाद बुढाथोकीले आज समुदघाटन सत्र भएपछि पुष ३ गते हुने बन्द सत्रले नयाँ नेतृत्वको चयन गर्ने बताए । सप्तरीको पालिका अधिवेशनहरुमा समानान्तर समितिहरु बनेको सहित ८० प्रतिशत पालिकाहरुको मात्र सम्मेलन हुन सकेकाले पुष ३ गते प्रदेश सम्मेलनको बन्द सत्र सम्भव हुने उनले बताए ।