एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २१ : मिथिलाञ्चल क्षेत्रका ऐतिहासिका तथा धार्मिक महोत्सव रामजानकी विवाहपञ्चमीको पुर्वसन्ध्यामा मंगलवार साँझ सीतारामको मटकोर कार्यक्रम विधीपुर्वक धुमधामसँग जनकपुरमा सम्पन्न भएको छ । महोत्सवको पाँचौ दिन मंगलवार मिथिलानी महिलाहरु जानकी मन्दिर बाट विभिन्न प्रकारका वैवाहिक गित गाउँदै माटो खन्न ऐतिहासिक गंगासागर पोखरी पुगेर मटकोर कार्यक्रममा सजाईएको कोदालोले माटो खनेर ११ वटा थाल र एउटा विशेष कलशमा राख्ने प्रचलन छ ।
मिथिला परम्परा अनुसार सोही माटोले बुधवार विवाह मण्डप(मरबा) बनाईने छ । यस अघि सोमवार तिल्कोत्सव र धानवती कार्यक्रम सम्पन्न भएको थियो । सोही धान लाई बुधवार राति भुटिने छ भने धानबाट निस्केको लाबाले भामरी विधि गरिने छ । पौराणिक कालमा मिथिलाका राजा राजर्षि जनककी छोरी सीता र अयोध्याका नरेश दशरथका छोरा रामचन्द्रको जनकपुरमा भएको विवाहको सम्झनामा मिथिलावासीले हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
विवाहपञ्चमी मेलाका आकर्षणका केन्द्र बिन्दुको रुपमा रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास सीताको प्रतिमा लिएर बाजागाजा, झाँकी किर्तन, जुलुसका साथ गँगासागर पुगेका थिए । महन्थ दासका अनुसार मिथिलाको परम्परा अनुशार विवाहभन्दा पहिला छोरीले नजीकको पोखरीमा पुगेर माटो कोर्नु पर्दछ । सोही परम्परा अनुशार सीताको मटकोर कार्यक्रमको आयोजना भएको हो । मटकोर कार्यक्रममा प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतो, संघिय सांसद जुली महतो, प्रदेश सांसद रामअशिष यादव सहितको समेत उपस्थिती थियो ।
यस अघि विवाहपञ्चमी महामहोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन नगरदर्शन आयोजना गरिन्छ । सो दिन बेलुकी जानकी मन्दिरको प्राङ्गणमा जनकपुरधाम नगरवासीहरुलाई समेत सहभागी गराई भगवान रामजानकीलाई नगरदर्शन गराइने परम्परालाई नगरदर्शन भनिन्छ । मन्दिर प्राङ्गणमा साधुसन्तका साथै मिथिलानीहरु समेत गितगानका साथ रामजानकीको स्वरुपलाई मन्दिर प्राङ्गणमा राखेर नगर दर्शन गराइन्छ । सो अवसरमा रामायणका अन्य पात्रहरु लक्ष्मण, भरत सत्रुधन सहितको पात्रहरुलाई समेत सहभागी गराइन्छ ।
विवाह पञ्चमीको दोस्रो दिन फूलवारी लिला आयोजना गरिन्छ । भगवान रामजानकी पहिलो पटक फुलबारी अर्थात बगैचामै भेट भएको जनविश्वास रहेकाले रामजानकीलाई फुलबारीमा गराइने भेट र त्याहाँ हुने गितगान तथा विधीलाई फुलवारी लिला भनिन्छ । विवाह पञ्चमीको तेस्रो दिन धनुषयज्ञको भब्य आयोजना हुन्छ । राजा जनकले आफनो दरबारमा रहेको शिवधनुष उचाल्न सक्ने विर राजकुमारसंग मात्र आफनो छोरी सीताको विवाह गर्ने प्रण सहित विभिन्न राज्यका राजा र राजकुमारहरु सहित धनुष उचालेर विरता प्रदर्शन गर्न आयोजना गरेको सभालाईनै धनुषयज्ञको रुपमा दर्शाइने परम्परा छ । यसमा अयोध्याका राजकुमार भगवान श्री रामले धनुष उचालेको विरता देखाइन्छ ।
विवाहपञ्चमीको चौथो दिन सोमवार तिलकोत्सव सम्पन्न भएको छ । भगवान राम अर्थात बेहुला पक्ष र जानकी अर्थात वेहुली पक्षका अभिभावकहरु बिच हुने सम्धी मिलान तिल्कोत्सव कार्यक्रमको मुख्य आकर्षण हुने गरेको छ । जानकी मन्दिरबाट फलफुल र मिष्ठान सहितको सैयौं दाउरामा राखिएको भार (उपहार) राममन्दिरको प्राङ्गणमा पुरयाएर श्री राम मन्दिरका महन्थ बेहुलाको बुवा र श्री जानकी मन्दिरका महन्थ बेहुलीको बुवाको रुपमा सम्धी मिलान गर्नु र गितगानका साथ आयोजित भब्य समारोहमा मिथिला परम्परा अनुसार हाँसो र ठट्टा हुनु तिल्कोत्सव समारोहको मुख्य आकर्षण हुन्छ ।
प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन मनाईने विवाहमहोत्सवमा सहभागी हुन लाखौँका सँख्यामा श्रद्धालु भक्तजन जनकपुरमा आइपुगेका छन् र आउने क्रम जारी छ । यहाँका प्राय सबै होटल, धर्मशाला, मठमन्दिरहरुमा यात्रुको भीडभाड छ । बस्ने ठाउँ नपाएर सडक छेउमा यात्रुहरुले भात पकाएर खाएको सहजै देख्न सकिन्छ भने विभिन्न व्यापार व्यवसायका लागी भारत तथा नेपालका विभिन्न ठाँउहरुवाट व्यवसायीहरु जनकपुर आएका छन् । फुटपात व्यावसायीहरुले जनकपुरका प्रमुख चौकका सवै सडकको दुवै छेउ भरेको छ ।
विहिवार स्थानीय बाह्रविग्हामा आयोजना हुने सीतारामको स्वंयवरमा लाखौ भक्तजन तथा सन्तमहन्थ सहभागी हुने अनुमान गरिएको छ । जानकी मन्दिरका आलावा पनि यहाँका प्रसिद्ध सुन्दर( सदन (श्री सीताराम मन्दिर), रत्नसागर, झुलनकुञ्ज, युगलविनोद कुञ्ज, प्रेम कुट्टीमा समेत मैथिल परम्परा अनुशार सीतारामको वैवाहिक कार्यक्रमको आयोजना गरिने छ । यस मन्दिरहरुमा पनि मटकोर कार्यक्रम सम्पन्न भएको छ ।
यता सप्ताहव्यापी आयोजना भइरहेका श्रीरामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । विगतका वर्षहरुमा चाडपर्वकै बेला केहि अप्रिय घटनाहरु हुने गरेकोले त्यसलाइ मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाईएको धनुषा प्रहरीले जनाएको छ । चारपाँग्रे सवारी साधनहरुलाई जानकी मन्दिर सहित बजार क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।