एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १९ : श्री सीताराम विवाहपञ्चमी महामहोत्सव अन्तर्गत आइतवार धनुषयज्ञ सम्पन्न भएको छ । सप्ताहव्यापी वैवाहिक कार्यक्रम अन्तर्गत तेस्रो दिन धनुषयज्ञको आयोजना गरिएको छ । त्रेतायुगमा राजा जनक आफनो दरबारमा रहेको पिनाक नामक धनुषमा प्रत्यञ्चा चढाउने विर राजकुमारसंग मात्र आफनी छोरीको विवाह गर्ने उद्घोष गरेका थिए ।
छोरी सीताका लागि एक विर योद्वा राजकुमार चयन गर्न राजर्षि राजा जनकले आयोजना गरेको धनुषयज्ञमा सहभागी भएका अयोध्याका राजकुमार श्रीराम प्रत्यञ्चा चढाउन सफल भएको र सो धनुष तीन टुकड़ा भएको जनविश्वास छ । यसै घटनालाई प्रतिकात्मक रूपमा कुनै वर्ष जनकपुरधामको बाह्रबिघ्घा रंगभूमि मैदान र कुनै वर्ष जानकी मन्दिर प्राङ्गणमा देखाउने गरिन्छ । यस वर्ष जानकी मन्दिर प्राङ्गणमै आयोजित धनुषयज्ञमा भगवान रामका स्वरूप धारण गरेका श्रीराम प्रत्यञ्चा चढाएका छन् ।
धनुषयज्ञ दर्शनावलोकन गर्न अत्याधिक संख्यामा साधुसन्त, सर्वसाधारण तथा नगरबासी सहभागी हुने प्रचलन छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमवार तिलकोत्सव, मंगलवार मटकोर, बुधवार स्वयम्वर र शुभ विवाह तथा विहिवार रामकलेवाको आयोजना गरिनेछ ।