एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १६ : नेपाली कांग्रेसको सूचना तथा सञ्चार विभागका सदस्य प्रफुल्ल राज घिमिरेले पार्टीको प्रदेश २ को उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गरी नेता घिमिरेले उम्मेदवारीको घोषणा गर्नुभएको हो ।
धनुषा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिसमेत चयन भएका घिमिरेले पार्टीमा ४३ वर्षको लगानी रहेकाले प्रदेश २ को उपसभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । उहाँले आफू २०३५ सालमा पार्टीको सदस्यता लिएको जानकारी दिनुभयो ।
पत्रकारिता पेशाका साथै नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील घिमिरे मधेश आन्दोलन र विद्रोहका बेला पनि आफू एक सच्चा र निडर सिपाहीका रूपमा पार्टीमा सक्रिय रहेर जनकपुरधाममा काम गरेको बताउनुहुन्छ ।
उहाँले आफू उपसभापति भए कांग्रेस प्रदेश २ मा पार्टीलाई एक ढिक्का गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने पनि बताउनुभयो । आफू सबै समूहको सामूहिक उम्मेदवार हुने र पार्टी तथा नेताहरूले आफ्नो मूल्याङ्कन गर्नेसमेत उहाँको विश्वास छ ।