एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ : भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता डाक्टर विजय सोन्कर शास्त्रीले जयनगर–जनकपुर रेल छिट्टै चल्ने विश्वास व्यक्त गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर शास्त्रीले रेल सञ्चालनका लागि पूर्वाधार निर्माण भइसकेको र दुई पक्षीय प्रक्रियाहरू पनि पूरा भइसकेकाले अब छिट्टै रेल चल्ने विश्वास व्यक्त गर्नुभएको हो ।
दलित अधिकारकर्मीसमेत रहेका प्रवक्ता डाक्टर शास्त्रीले दलित समुदायको सर्वपक्षीय विकास हुनुपर्ने बताउनुभयो । उहाँले आफूलाई अगल र पीछडा महसुस गर्ने दलित समुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक विकास आवश्यक रहेको पनि बताउनुभयो ।
प्रवक्ता शास्त्रीले दलित समुदायको उत्थान गरी मूलधारमा ल्याउन कसैले रोक्न नसक्ने समेत बताउनुभएको थियो । यसअघि, बुधबार बिहान जनकपुरधाम विमानस्थल आएका प्रवक्ता शास्त्रीलाई प्रदेश २ दलित विकास समितिका अध्यक्ष रामप्रवेश बैठा, नेता देवेन्द्र यादव, दलित अगुवा राम उदित राम, सहितले स्वागत गरेका थिए । डाक्टर शास्त्री तत्कालीन अटलबिहारी बाजपेयीको सरकारमा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उनका साथमा उनकी धर्मपत्नी शुष्मा शास्त्री र डा.राकेश रञ्जन समेत जनकपुरधाम आएका थिए ।
त्यस्तै, भारतको राष्ट्रिय दलित आयोगको अध्यक्षको रूपमा पनि उहाँले काम गरिसक्नुभएको छ । यसैबीच, प्रवक्ता शास्त्रीले प्रदेशका २ का प्रमुख हरिशंकार मिश्रसँग भेट गर्नुभएको छ । बुधबार नै उहाँले जानकी मन्दिरमा पूजापाठ पनि गर्नुका साथै सवरी कुट्टी पुगेर दलित अगुवाहरुसंग छलफल गरेका थिए । उनी आजै काठमाण्डौं फर्किएका छन् ।