एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३० : प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले प्रदेशको हरेक नागरिकको खाद्य अधिकारको ग्यारेण्टी गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रदेश २मा खाद्य अभावको संकट दिनदिनै बढिरहेको समयमा मन्त्री यादवले खाद्य अधिकारको ग्यारेण्टीका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
फियान नेपालले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता प्रवद्र्धनका लागि सरोकारबलाको भूमिका विषयक अन्तरकृया कार्यक्रममा मन्त्री यादवले खाद्य अधिकारको ग्यारेण्टीका लागि प्रदेशमा विधेयक तथा नियमावली निर्माणको प्रकृया चाँडै नै बढाइने प्रतिवद्धता व्यक्त गरे । उनले यसका लागि सही तथ्यांकको आवश्यक्ता रहेको चर्चा गर्दै नेपाल सरकारको तथ्यांक नै गलत रहेकाले यसमा कठिनाई हुँदै आईरहेको जिकिर गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयबाट विधेयक निर्माणमा ढिला सुस्ती भईरहेकोमा आलोचना गरे । उनले यस मन्त्रालयबाट ४ वर्षमा जम्मा एउटा विधेयक मात्रै आउनुले प्रदेश सरकार खाद्य अधिकारको सवालमा कति गम्भिर छ भन्ने कुरो स्पष्ट हुन्छ उनको भनाई थियो । प्रदेशसभा सदस्य साहले भने ‘४ वर्षमा यो मन्त्रालयबाट दुग्ध विकास बोर्ड सम्बन्धि विधेयक पारित भएको छ, सहकारी विधेयक २ वर्षदेखि समितिमै अडकिएको छ, प्रदेश सरकार महत्वपूर्ण विधेयक पास गराउने तर्फ गम्भिर नै छैन ।’
अर्का प्रदेशसभा सदस्य सुरिता साहले खाद्य सुरक्षा सम्बन्धि विधेयक चाँडो भन्दा चाँडो प्रदेश सरकारलाई आग्रह गरिन् । उनले खाद्य सुरक्षा सम्बन्धि कानूनलाई जनतामुखी बनाउनका लागि प्रदेश सरकारले केन्द्र सरकारसंग समन्वयन गर्नुपर्नेमा उनले जोड दिइन् । फियान नेपालले आयोजना गरेको सो अन्तरकृया कार्यक्रममा खाद्य अधिकार, भोकमरीको समस्या, किसानहरुलाई आधुनिक कृषि तर्फ कसरी प्रेरित गर्ने लगायतका विषयमा विमर्ष गरिएको थियो ।