एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २८ : जनकपुरधामस्थित कोभिड विशेष अस्पतालले जटिल रोगहरूको शल्यक्रिया सेवा सुरु गरेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको कोभिड विशेष अस्पतालले स्पाइन सर्जरी, क्यान्सर रोगको सर्जरी र न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।
कोभिडको जोखिम कम भएसँगै कोरोनाका बिरामी नभएपछि अस्पतालले आइतबारबाट जटिल रोगहरूका शल्यक्रिया सेवा सुरु गरेको छ । प्रदेशमै मेरुदण्ड, क्यान्सर तथा नसासम्बन्धी गुणस्तरीय सेवा दिने उद्देश्य लिएको प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहले बताए ।
सरकारले तोकेको न्यूनतम शूल्यमा शल्यक्रियाका सेवा दिने पनि उहाँले जानकारी दिनुभयो । यसका साथै बालबालिकाका लागि पीआईसीयू र अनआईसीयूको सेवा पनि सुरु गरेको प्रतिष्ठानका उपकुलपति डाक्टर साहले जानकारी गराएका छन् ।
प्रतिष्ठानले बजारभन्दा सस्तोमा औषधी दिने योजना ल्याउन लागेको र बिरामीलाई बीमाका लागि प्रोत्साहन गर्ने योजना पनि ल्याउन लागेको जानकारी दिएको छ । कोरोना संक्रमितको उपचारका लागि कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याइए पनि बिरामी नै नभएपछि अस्पतालले अर्को सेवाहरू दिन सुरु गरेको हो ।