एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २३ : तराई मधेस क्षेत्रमा दाजुभाइ दिदीबहिनीबीचको स्नेहको प्रतीक मानिएको पर्व सामा चकेवा आजदेखि सुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्व लगातार १० दिनसम्म चल्ने गर्दछ । पर्वको ११औं दिन अर्थात पूर्णिमाको रात सामा चकेवालाई बिसर्जन गरि पर्व सम्पन्न हुन्छ ।
त्यस क्रममा उनीहरु विभिन्न संस्कृतीक र परम्परागत गितगानहरु गर्दै नाचगान समेत गर्छिन । लगातार दश दिनसम्म समाजका दिदीबहिनी तथा महिलाहरुको समुह आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् । पर्वको पहिलो दिन आज बिहानैदेखि दिदीबहिनीले समूहमा गीत गाउँदै खेत तथा भीरबाट दाजुभाइका हातबाट खन्न लगाएर ल्याएकोे माटोलाई गिलो बनाई विभिन्न प्रकारका कलात्मक सामा र चकेवा बनाएकी छिन् ।

सामा चकेवालाई विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि साँझ पर्ने वितिकै खानपिन पछि घर घरबाट डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौबाटो, धर्मशाला, मन्दिरमा समेत सामुहिक बसेर १० दिनसम्म लगातार गीतगान सहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् ।
दश दिनसम्म यो क्रम जारी रहने छ । ११ औं दिन कार्तिक पुर्णिमाको बिहानै सामा चकेवालाई पुनः रङरोगन गरि बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले जोतिएको खेतमा लगेर सामा चकेवा बिसर्जन गरेपछि यो पर्व सम्पन्न हुनेछ । तराई मधेसमा छठपर्वको खरनाको दिनदेखि सामा चकेवा पर्वको थालनी हुन्छ ।