एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १९ : जनकपुरधामका विभिन्न मठमन्दिरहरुमा शुक्रबार अन्नकुट पर्व मनाइएको छ । प्रत्येक वर्ष गोबद्र्धन पूजाका दिन जनकपुरधामका मठमन्दिर तथा कुट्टीमा अन्नकुट पर्व मनाउने गरिन्छ । राम र जानकी मन्दिरका साथसाथै रत्नसागर, बिहारकुण्ड, अग्निकुण्ड लगायतका ७५ वटाभन्दा बढी मठमन्दिर, कुट्टी तथा धार्मिक स्थलमा अन्नकुट पर्व मनाइएको छ ।
यसैक्रममा जनकपुरधामस्थित श्री रामजानकी सुडी कुट्टीमा धुमधामका साथ यो पर्व मनाइएको छ । यस पर्वमा राम–जानकी, हनुमान एवं देवी–देवतालाई ५६ प्रकारका खाद्य व्यञ्जन भोग लगाई भक्तजनहरूलाई प्रसाद ग्रहण गराइन्छ । हरेक वर्ष जस्तै यस वर्ष पनि प्रसाद ग्रहण गराएर अन्नकुट पर्व मनाइएको समाजसेवी बलराम महतोले बताउनुभयो ।
त्रेतायुगमा भगवान राम १४ वर्षको वनबास पूरा गरी अयोध्या फर्किएपछि खुशीयालीमा प्रसाद ग्रहण गराइएको स्मरणमा यो पर्व मनाउने गरिएको कुट्टीका पुजारी अशोक शरणले बताउनुभयो । यो पर्वमा शरद ऋतुमा पाइने सम्पूर्ण फलफूल, तरकारी तथा खाद्यपदार्थ भगवानलाई भोग लगाउने परम्परा रहेको छ । कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साह लगायत सहभागी भएका थिए ।