एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १५ : जनकपुरधामका पूर्वमेयर राजदेव मिश्रको निधन भएको छ । मिश्रको सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।
नागरिक समाजका अगुवा मुरलीमनोहर मिश्र तथा पत्रकार घनश्याम मिश्रका पितासमेत रहेका मिश्र करिब ६ महिना मेयरको जिम्मेवारी सम्हाल्नुभएको थियो । मिश्रका ४ छोरा र तीन छोरी छन् ।
पञ्चायतकालमा जनकपुरधाम वडा नं. ३ का वडा अध्यक्ष र दामोदार प्रसाद उपाध्यायको प्रधानपञ्च कार्याकालमा उपप्रधानपञ्च भएर समेत काम गरेका मिश्र राजा ज्ञानेन्द्रको शासनकालमा छोटो समयका लागि मेयर भएर काम गरेका थिए ।
उनले छ महिनाकै कार्यकालमा तत्कालिन अञ्चल अस्पताल रोड फराकिलो गर्ने कार्य गरि चर्चा कमाएका थिए । तीन महिना अघि उनलाई हृदयघात भएको थियो । उनको पार्थिव शरीरलाई आजै जनकपुरधाम स्थति स्र्वगद्वारीमा अन्येष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।