एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश २ सरकारले साइकल खरिदको विषयमा अख्तियारलाई जवाफ दिनुपर्ने बताउनुभएको छ । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विषयमा राखेको जिज्ञासामा वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले साइकल खरिदमा प्रदेश सरकार वा व्यक्ति विशेषले गल्ती गरेको भए जवाफदेही हुनुपर्ने भन्दै अख्तियारसमक्ष सफाइ दिन सुझाव दिनुभयो । पछिल्लो समय न्यायपालिकामा देखिएको समस्यामा विषयमा वरिष्ठ नेता पौडेलले देशको परिस्थिति सहज नभएको बताउनुभयो । संसद लगातार अवरुद्ध हुनु र न्यायपालिका पनि अस्तव्यस्त हुनुले असहज परिस्थिति निर्माण गरेको उहाँको भनाइ छ ।
वरिष्ठ नेता पौडेलले न्यायालयमा देखिएको समस्या निराकरणका लागि राजीनिक दलहरू अगाडि बढ्नुपर्ने पनि बताउनुभयो । आगामी चुनावको सन्दर्भमा वरिष्ठ नेता पौडेलले कांग्रेस एक्लै चुनाव लड्ने क्षमता राख्ने पार्टी भएको दाबी गर्नुभयो । यद्यपि, त्यसबेलाको परिस्थितिलाई ध्यानमा राख्ने अरु निर्णय गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।