एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १२ : प्रदेश २ सरकारले उत्कृष्ट कार्य सम्पदान गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सम्मान गरेको छ । प्रदेश २ सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले संयुक्त रूपमा प्रदेशमा उत्कृष्ट कार्य सम्पादन र स्वास्थ्य सेवा दिने जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरूलाई सम्मान गरेका हुन् । स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘आर्थिक वर्ष २०७७÷७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी’का क्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
उत्कृष्ट कार्य सम्पादनमा प्रदेश २ का १३ अस्पतालमध्ये सिरहा अस्पताल पहिलो भएको छ । त्यसैगरी ८ वटा जिल्ला स्वास्थ्य कार्यालयमध्ये सप्तरी पहिलो भएको छ । त्यस्तै, १ सय ३६ पालिकामध्ये सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र सर्लाहीको चकरघट्टा गाउँपालिका प्रथम भएका छन् । सप्तरीकै कञ्चनरूप नगरपालिका र सर्लाहीको हरिपुर नगरपालिका दोश्रो तथा सर्लाहीको गोडैता नगरपालिका र बोदेबर्साइन नगरपालिका तेश्रो स्थान हासिल गरेका छन् ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहले सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । यी कार्यालयहरूले दिएका सेवाहरूको २० वटा इन्डिकेटर तयार पारी उत्कृष्ट कार्य गर्ने स्वास्थ्य संस्थाहरूलाई सम्मान गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । यस्तो मूल्यांकनले स्वास्थ्य संस्थाहरू कामप्रति उत्साहित हुने र सेवाग्राहीले पनि राम्रो सेवा पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झा, जनकपुरधामका मेयर लालकिशोर साहलगायतको उपस्थिति थियो । जनकपुरधाममा जारी समीक्षा गोष्ठी पनि बुधबार समापन भएको छ ।