एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १२ : मधेशी आयोगका अध्यक्ष विजय कुमार दत्तले समानताका लागि मधेशी आयोग निरन्तर काम गरिरहेको बताएका छन् । इन्शेक प्रदेश २ ले आयोजना गरेको महामारी र विपद्यमा राष्ट्रिय मानव अधिकार संस्थाहरु, संबैधानिक निकाय र नागरिक समाजको भुमिका तथा चुनौती विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी आयोगका अध्यक्ष दत्तले आफुहरुले सम्भावित प्राकृतिक प्रकोप पुर्व आफुहरु राज्यलाई समस्या र चुनौतीका विषयमा सचेत गराउने काम समेत गरिरहेको बताए ।
समानता र प्रभावकारिताका लागि आयोग प्रतिवद्व रहेको उनको धारणा थियो । विपद त्यसको प्रभाव र सम्भावित जोखिमहरुलाई आयोगले अध्यन्नको विषय बनाएर आगाडि बढाइने समेत उनले बताए । दलित विकास समितिका प्रदेश २ का अध्यक्ष रामप्रवेश बैठाले कोरोना र भुकम्प सहितका विपदहरुमा सबै भन्दा बढि पिडित र प्रताडित दलित समुदाय भएपनि विशेष व्यवस्था हुन नसकेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरधामका प्रमुख विर बहादुर बुढामगरले विपद त्यसका जोखिम र समस्या समाधानका लागि विभिन्न निकायका साथै नागरिक समाज बिचको समन्वय अपरिहार्य रहेको बताए । कार्यक्रममा अन्य वक्ताहरुले राज्य विपद आइसकेपछि नामका लागि केहि रात र काम गर्दै आएको भएपनि सम्भावित विपद र बचाउका कुनै ठोस योजना ल्याउन नसकेको बताएका थिए ।