एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १२ : जनकपुरधाममा तिन दिवसीय हस्तकता मेला शुभारम्भ भएको छ । नेपाल हस्तकला महासंघ, संघिय महिला तथा बालबालिका मन्त्रालय तथा प्रदेश २ को महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधामको गोपाल धर्मशालामा आज देखि सुरु भएको दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनीको प्रदेश २ को समुदघाटन गरिएको छ ।
प्रदेश २ को महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले मेलाको समुदघाटन गर्दै प्रदेश २ सरकार महिलाहरुको उत्थान, आत्मनिर्भरता तथा उनीहरुद्वारा उत्पादित बस्तुहरुको बजारीकरणका लागि बजेट छुटाइएको बताएका छन् । सातवटै प्रदेशमा प्रदेश २ मा सबैभन्दा बढि गरिवी र अशिक्षा रहेकाले महिलाहरुलाई विभिन्न शिप कला प्रदान गरि आत्मनिर्भर बनाउन आवयश्क रहेको मन्त्री सिंहको भनाई थियो ।
![](https://spkhabar.com/wp-content/uploads/2021/10/IMG_0299-1024x683.jpg)
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष राजेश अग्रवाल, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्र र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्य सहितकाले तराई मधेशका महिलाहरुको उत्पादन र उद्यमशिलतामा निखार ल्याउन र प्रचार प्रसार गर्न आवयश्क रहेको बताएका छन् । कार्तिक १४ गते सम्म चल्ने मेलामा जनकपुरधाम सहित देशभरिकै महिलाहरुको कला, शिप र विभिन्न उत्पादनहरुको दर्जनौ स्टलहरु निशुल्क राखिएको छ ।