एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १० : जनमत पार्टीले भ्रष्टाचारविरुद्धको आन्दोलनअन्तर्गत बुधबार मसाल जुलुससहित विरोधका कार्यक्रम गरेको छ । पूर्वघोषित कार्यक्रमअनुसार जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले वडाहरूमा आन्दोलन समिति बनाउनुका साथै कोणसभा गर्ने र मशाल जुलुस निकालेका हुन् ।
धनुषासहित विभिन्न जिल्लाका वडाहरू परिक्रममा गर्दै उनीहरूले मशाल जुलुस निकालेका छन् । त्यसक्रममा उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाउनुका साथै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरूलाई रिहा गर्न माग गरेका छन् ।
उनीहरूले कात्तिक ४ गते पक्राउ परेकाहरूलाई रिहाइको माग गरेका हुन् । त्यस्तै, जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले काठमाडौंको माइतीघरमा पनि प्रदर्शन गरेका छन् । यसअघि, आइतबार जनमत पार्टीले पहिलो चरणअन्तर्गत ९ दिने आन्दोलनका कार्यक्रमण घोषणा गरेको थियो ।
आन्दोलनका अन्य कार्यक्रमअनुसार ११ गते वडामा युवा दस्ता प्रशिक्षण दिएर आरपार आन्दोलनको तयारी गर्ने, १२ गते जिल्ला सदरमुकाममा मशाल जुलुस र १३ गते अधिवेशन गर्ने घोषणा गरिएको छ । त्यसपछि, कात्तिक १४ गते केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलनको थप कार्यक्रम ल्याउने तथा १५ गते गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा र १६ गते वडा तथा टोलहरूमा कोणसभाका साथै अन्तरक्रिया कार्यक्रम गर्ने जनमत पार्टीले जनाएको छ । यसअघि, कात्तिक ४ गते जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागका निमित्त प्रमुख राजेश कुशवाहालाई जनकारबाही भन्दै अर्धनग्न पारी नगर घुमाएका थिए ।
जनकपुरधामका भित्रि सडकहरूमा ढल बिच्छाएर पुनर्निर्माण नगरेको भन्दै कुशवाहासँग दुव्र्यवहार गरिएको थियो । यही घटनामा सलग्न रहेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ नेता तथा कार्यकर्तालाई रिहाइ तथा भ्रष्टाचारविरुद्ध जनमत पार्टीले आन्दोलन गर्दै आएको हो ।