निरञ्जन साह
जनकपुरधाम, कार्तिक १० : डा. राजेश साह (मुटुरोग विशेषज्ञ) । उनी काठमाण्डौंको बाँसबारी स्थित शहिद गंगालाल हृदयरोग उपचार केन्द्रमा कार्यरत थिए । तर त्यहाँ पुग्ने अधिकांश विरामीहरु मधेशमुलका हुनेगरेकाले उनी मधेशमै पनि यो उपचार किन सम्भव छैन ? भन्ने सोच्ने गर्दथे । काम काठमाण्डौंमा भएपनि उनको मन र इच्छा भने मधेशमै बसेर आफनो गाँउठाउको विरामीलाई सेवा गर्ने भन्ने थियो ।
उनी मधेशमै बसेर सेवा गर्न चाहनुको अर्को पनि कारण छ । मुटुरोग विशेषज्ञ उनको आमाको असमायिक निधन पनि हृदयरोगकै कारण(हृदयघात)बाट भएपछि उनी आफनै मातृभुमिका जनतालाई सेवा गर्न चाहन्थे र अभियानमा लागे । फलस्वरुप उनीहरुकै अग्रसरता र पहलमा काठमाण्डौंको बाँसबारी स्थित शहिद गंगालाल हृदयरोग उपचार केन्द्रको शाखा जनकपुरधाममै स्थापना समेत भयो ।
शाखा स्थापना भएपछि मधेशका लागि अतिआवयश्क र महत्वपुर्ण मानियो । प्रादेशिक अस्पतालमै तत्काल एक भवन बनाइदिएर पनि आफुहरुलाई सेवा गर्ने थलो भयो भने गर्न तयार भएपछि उनीहरु काम गर्न थाले । उनीहरुको मनमा जोस र जाँगर थियो । दैनिक सैयौ विरामीहरु सेवा लिन पनि थाले । समयको कुनै प्रवाह नगरि काम थालेका उनीहरुको मनोबल भने अब टुटदै गइरहेको छ ।

सुरुमा ओपीडि, त्यसपछि गुणस्तरीय भवन र तेस्रो चरणमा क्याथल्याव स्थापित गर्ने योजना सहित उनीहरुलाई सेवाका लागि जनकपुरधाम बोलाइयो तर अहिले कसैले पनि कुनै सुनुवाई नगरेपछि उनीहरुको मनोवल घटदै गएको छ । यस बिचमा जसपाका अध्यक्ष ओपेन्द्र यादव, अर्का नेता डा. सुरेन्द्र यादव सहित यसै भेगका स्वास्थ्य र राज्यमन्त्री समेत थिए । उनीहरुकै कार्यकालमा शाखा सञ्चालनमा आयो तर पुर्वाधार नभएकाले प्रभावकारी हुन सकिरहेको छैन ।
डा. साह भन्छन, ‘पुर्वाधारका लागि मन्त्री, नेताहरुको कार्यालय देखि घरघर दैलोदैलोमा पुग्यौं तर कसैलाई चासो देखिन ।’ आफुहरु बिच भुमरीमै फँसेको जस्तो लाग्न थालेको उनीहरुको गुनासो छ । जनकपुरधाम स्थित शाखाका कर्मचारी, नर्श र म्यानपावर समय तालिका नहेरि काठमाण्डौंको जस्तै सेवा गरिरहेको भएपनि मुटुको सानोतिनो उपचार बाहेक आफुहरु केहि पनि गर्न नसकेको उनीहरु बताउछन् ।

विहानै पाँच बजेदेखिनै विरामीहरुको लाइन लाग्ने गरेको बताउदै उनीहरु वाहिर वाहिरका विरामीहरु आउने भएकाले एक बज्ने वितिकै प्रेसर हुने गरेको बताउछन् । वाहिर वाहिर जानुपर्ने भएकाले दुई बज्ने वितिकै विरामीहरु हतार गर्न थाल्छन डा. साहले भने, ‘मुटुरोगको अधिकांश सेवा जनकपुरधाममै उपलब्ध हुन सक्दछ तर पुर्वाधार छैन के गर्ने ?’
दैनिक ४५ देखि पचास जना मात्रको ओपिडी काटेर आफुहरु सेवा गरिरहेको उनको धारणा छ । जनकपुरधाममा शाखा आउनुनै ठुलो अवसर भएकाले यस्को सदुपयोग आवयश्क रहेको उनीहरुको भनाई छ ।