एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ८ : नेकपा एमालेका नेता रघुवीर महासेठले माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादी पार्टीले धनुषामा वडा सदस्य पनि नजित्ने टिप्पणी गर्नुभएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ टोका बजारमा सोमबार भएको सामुदायिक भवन पुजनोत्सव एवम् दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता महासेठले यस्तो बताउनुभएको हो । उहाँले माधव समूहले धनुषा जिल्लामा एक सिट पनि नजित्ने दाबी गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहेका महासेठले नेपाली कांग्रेस नेतृत्वको सरकारले देशभरका दुई हजार सडक योजना बन्द गरेको आरोप लगाउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता शिवशंकर साह हिराले नेकपा एमाले सरकारको पालामा धनुषामा व्यापक विकास भएको दाबी गर्नुभयो ।
त्यसक्रममा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ स्थित टोका बजारमा बन्न लागेको सामुदायिक भवन शिलान्यास गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका नेताहरू मनोज खड्का, भोला यादव, अजय यादवलगायत उपस्थित भएका थिए ।