एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ५ : जनकपुरधामका एक जनप्रतिनिधिले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएकोमा किसानलाई राहत दिने घोषणा गरेका छन् । मेयरले गर्न नसकेको काम जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष सत्रुधन साहले अन्नबालीमा क्षति पुगेका आफ्ना वडाका किसानहरुलाई राहत दिने घोषणा गरेका हुन् ।
अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी आफ्नो वडाका कृषकहरुलाई प्रतिकठ्ठा ४० किलो धान क्षतिपुर्ति वापत दिने व्यवस्था मिलाएको वडाध्यक्ष साहले बताए । उनले कार्तिक १ र २ गते भएको अविरल बर्षाका कारण किसानहरुको अन्नबालीमा ठुलो क्षति पुगेको बताउँदै आफ्नो वडामा विवरण संकलन गरी प्रति किसानलाई प्रतिकठ्ठा ४० किलो धान उपलब्ध गराउने घोषणा गरेका छन् ।

वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने भएका छन् । उनले यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनका बेला पनि आफ्नो वडाका गरीब, विपन्न र असहायहरुका लागि निशुल्क भोजन, जाडोयाममा बाक्लो कपडा वितरण लगायतका कार्यहरु गरिसकेका छन् ।