एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ५ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेश ल्याएर भएपनि जनकपुरधाम–जयनगर नेपाल रेल चाँडै संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले रेल चाँडै सञ्चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापनपत्र जनकपुरधाममा बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर भए पनि रेल चाँडै सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिइन् ।
एक वर्षदेखि रेलको इन्जन बोगीसहित किनेर थन्किएको छ, तयार पूर्वाधार समेत ठाउँ–ठाउँमा टुटफुट हुन थालेको कारण आगामी विवाह पञ्चमीसम्ममा समेत रेल सञ्चालनमा ल्याउन जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ ।
उनीहरुको मागमा मन्त्री यादवले विवाहपञ्चमी देखि नै सञ्चालन हुने ग्यारेन्टी नभए पनि चाँडै नै सञ्चालनमा ल्याउने बताइन् । कार्तिक ९ गते बस्ने प्रतिनिधीसभा बैठकमा अध्यादेशका लागि तयारी भइरहेको उनको भनाई छ । उनले रेल मात्र नभइ सडक सञ्जालसहितका पूर्वाधार विकास निर्माणको कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
रेल सञ्चालनका लागि भारतीय पक्षसंग समेत कुराकानी निरन्तर भइरहेको उनको तर्क छ । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाईमा ज्ञापन पत्र बुझाउन वरिष्ठ उपाध्यक्ष मनिष रमन साह, पुर्व अध्यक्ष निर्मल चौधरी सहित जउबा संघका पदाधिकारी र सदस्यहरुको टोली पुगेका थिए ।
नेपाल सरकारलाई हस्तान्तरण
एता भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरको छ ।
समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणुकुमारी यादवले सहभागिता जनाएका थिए । समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो ।
भारतको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ । भारतको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो ।
जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ ।एकपटक सञ्चालनमा आए लगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास दूतावासले व्यक्त गरेको छ ।