एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३ : आज कोजाग्रत पूर्णिमा, सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । त्यस्तै देवी सितालाई छोरीको रुपमा मान्दै जानकी मन्दिरमा कोशेली पठाउने चलन पनि रहेको छ । कोजाग्रत पूर्णिमासंगै जोडिएको यो चलन मिथिला क्षेत्रका सर्वसाधारणले धुमधामका साथ मनाउँछन ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रतलाई मिथिला क्षेत्रमा कोजागरा पनि भनिन्छ । जनकपुरधाम स्थित श्री जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ कोजाग्रत पूर्णिमा मनाइएको छ । माता सीताजीलाई छोरीको रुपमा मान्दै महोत्तरीको रतौली गाविसमा विगत एक सय २० वर्षदेखि निरन्तर स्वर्गीय महेन्द्र ठाकुरको परिवारजनले जानकी मन्दिरलाई भार (कोसेली) पठाउने गरेको इतिहास छ । यही प्रचलनलाई ठाकुर परिवारको तेस्रो पुस्ताका पनातिहरू नवीन ठाकुरले जीवन्त राख्दै यस वर्ष पनि जानकी मन्दिरलाई भार पठाएका छन् ।

आजकै दिन महोतरीको रातौलीवाट शताब्दियौं देखिको परम्परा अनुसार विशेष भार जानकी मन्दिरमा आउने गर्दछ । महोतरी रतौलीका जमिन्दार स्व. महेन्द्र प्रसाद ठाकुरले सैयौं वर्ष पहिले जानकी मन्दिरमा भारको शुरुवात गरेको थियो । तत्कालिन जमिन्दार ठाकुरले पुत्र प्राप्तीको कामना गरेको र पुत्रलाभ भएपछि प्रत्येक वर्ष कोजाग्रात पुर्णिमाका दिन जानकी मन्दिरमा दही, चीउरा, पान, मखान सहितको भार पठाउने भाकल गरे अनुसार पुत्र प्राप्त भएकाले भार पठाउन सुरु गरेका थिए । त्यसपछि उनका छोरा, नातीहरु हुदै परनातीहरु समेत अहिले सो परम्परा जोगाउदै भार लिएर आउने गरेका छन् । विधि अनुसार १ सय ८ वटा भार ल्याउने परम्परा छ । ठाकुरको घरबाट आएको भारको दही च्यूरा पान, मखान जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरमा समेत जाने गरेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बताउछन् ।

साथै कोजाग्रात पुर्णिमाका दिन जानकी मन्दिरमा सर्वसाधारणले पान, मखान, मिसरी सहितका प्रसाद चढाउने गर्दछ भने आजको दिन मिथिलान्चलमा सबैले आ आफ्नो घरमा समेत पान र मखान खाने चलन छ । यसका लागि बजारमा आजका दिन पान र मखान किन्नेहरुको समेत घुँईचो लाग्ने गर्दछ भने मखानका ब्यापारीहरु पनि आजका दिन राम्रो ब्यापार गर्ने गर्दछन । गाउँमा भरियाहरूले बाँसको डाला, चगेरामा भार अर्थात कोसेली मन्दिरमा ल्याउँछन । कोजाग्रत पूर्णिमाको राति भगवान राम र सीताको प्रतिमालाई जानकी मन्दिरबाहिर निकाली गीतसंगीतका साथै पान, मखान र बतासाको वर्षा गर्ने चलन रहेको छ ।

हिन्दु संस्कृतिमा बाह्र महिनाको बाह्रै ओटा पर्बको आफ्नै महत्व रहेको छ । माघे संक्रान्तिका दिन ध्यू खिचडी खाने, भदौमा हुने चौरचनमा दही खाने, दिपावलीमा धर आङ्गन सफा गर्ने जस्तै यो पर्बमा दही, पान र मखानको समेत विशेष महत्व रहेको छ । त्रेता यूगमा भगबान श्री कृष्ण्ले यसै दिन रास लिला गरेको र यो दिनमा चन्द्रमा चकोरमा अमृत बर्षा हुने भएकोले मिथिलाबासीहरु आजैका राती खीर बनाएर आफ्नो छतमा राखी भोली प्रसादको रुपमा खाने गर्छन । त्यसैगरि मिथिला क्षेत्रमा नवविवाहित दुलहाको घरमा कोजाग्रत पुर्णिमाका दिन दुलहीको घरबाट कोसेली लैजाने चलन पनि छ । यस अवसरमा नवविवाहिता बेहुलीको घरबाट पान, मखान, काजु, बतासा, मिस्री लगायतका परिकार कोसेली स्वरूप बेहुलाको घरमा पठाउने गरिन्छ ।

बेहुलीको घरबाट आएको पान तथा मखानले बेहुलाको घरमा चुमान भनिने विशेष पूजा गर्ने गरिन्छ । खासगरी आजका दिन ब्राम्हण र कायस्थ जातिमा नव बिबाहित बेहुली पक्षबाट बेहुलाको घरमा पान , मखान, चिउरा, दही, फलफुल र मिठाई सहितको भार आउने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाको दिन मिथिलाञ्चलमा पनि रातभर जाग्राम बस्ने प्रचलन छ । कोजाग्रतको अर्थ रातभर जाग्नु पनि रहेको छ । कोजाग्रत पूर्णिमाको रात धनकी देवी लक्ष्मी पृथ्वीमा घुम्न आउने र जसको ढोका खुलेको छ त्यहि घरमा बास गर्ने धार्मिक मान्यता रहिआएको छ । साथै आजका दिन मिथिलान्चलमा सबैले पान र मखान अनिवार्य रुपले खानुपर्ने चलन छ । यसका लागि बजारमा आजका दिन पान र मखान किन्नेहरुको समेत घुँईचो लाग्ने गर्दछ भने मखानका ब्यापारीहरु पनि आजका दिन राम्रो ब्यापार गर्ने गर्दछन । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।
