एसपी रिपोर्टर
धनुषा, असोज २७ : धनुषाको सबैला नगरपालिकाको सदरमुकाम सबैलामा नगरपालिकामा भइरहेको भ्रष्टाचार विरुद्व जारी रिले अनसन २४ औं दिन पनि जारी छ । विजयादशमीमा पनि अनसनकारीहरु अनसनमै बसेका छन् । बुधवार २४ औं दिन पनि अनसन जारी रहेपनि नगरपालिका र मेयर विजय शंकर साहले नसुनेको गुनासो अनसनकारीहरुको छ ।

भ्रष्टाचार विरुद्व जनजागरण अभियान भन्दै जसपाका युवा नेता पत्रकार सुरेश यादवको नेतृत्वमा स्थानिय युवाहरु र विभिन्न राजनितिक दलका युवाहरु समेतको सहभागितामा रिले अनसन भइरहेको दावी गरिएको छ । अनसनकारीहरु नगरपालिकामा भएको विभिन्न शिर्षकको शंकाष्पद काममा अनियमितता भएको भन्दै विभिन्न सुचना मांग गरेको र पटक पटकको तागेदा पछि पनि नपाएपछि अनसनमा उत्रेका हुन ।
नगरपालिकाका मेयर साहले भने अनसनकारीहरु कार्यालयमा आएर वार्ता गर्नुपर्ने र उपलब्ध हुन सक्ने सुचनाहरु आफु दिन तयार रहेको बताइरहेका छन भने अनसनकारीहरुले अनसन स्थलमै आएर मेयरले मांगहरु सम्बोधन गर्नुपर्ने अडान लिएका छन् । अनसनमा कांग्रेसका मिथिला साह सहित विभिन्न दलका युवाहरु पनि सहभागी छन् ।
अनसनकारीहरु २४ औं दिनमा पनि आफुहरु अनसनरत रहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका सम्बन्धित निकाय मौन भएर बस्नु दुःखद रहेको बताउछन् । उनीहरुले अख्तियार र नगरपालिकाको सेटिङ्ग छ कि ? भन्ने आशंका व्यक्त गरेका छन् ।