उदय बरबरिया यादव
गत वर्ष हठात रुपमा तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले दिएको अपार बहुमतको अनादर गर्दै प्रतिनिधीसभा बिघटन गर्नुभयो । नेपालको राजनितिक इतिहासमै पहिलो पटक कम्यिुनिस्ट दुई तीहाईको नजिक पुगेको थियो । ओली जी ले चाहेको भए नेपालमा बामपंथीलाई स्थापित गर्न मज्जाले सक्नु हुन्थ्यो । नेपाली जनतालाई समृद्धिको सपना देखाएर कुठाराघात गर्ने ओली जीले समग्र बामपंथी शक्तिलाई लज्जाबोधको अवस्थामा ल्याएर छाडिदिनुभयो ।
नेपालको संबिधान जारी भए पश्चात उक्त संबिधानको कार्यान्वयना गर्नका निम्त्ति नेपाली राजनीतिलाई एउटा नयाँ दिशा दिएर इतिहाँस रचन् सफल कमरेड पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खण्डित रहेर बसेका बामपंथी राजनीतिक शक्तिहरुलाई अथक प्रयास गरि एकठाउँमा उभ्याउनु भएको थियो । प्रचण्ड लगायत अन्य मुर्धण्य नेताज्यूहरुको पहलकदमी पनि त्यतिकै सार्थक स्वागत योग्य छ । कम्यिुनिस्ट शक्ति एक भई चुनावमा जाने हो भने अवयश्य नै देशको नेतृत्व गर्नसक्छ भने उदेश्य थियो । र २०७४ सालको चुनावमा एमाले र माओवादी एकढिक्का भई स्थाई सरकारको नारा दिएर चुनाव जित्दा आम नेपाली जनताले नेपाल कम्यिुनिस्ट पार्टी नेकपालाई झण्डै दुई तिहाईको सरकार बनाउन आफ्नो अमुल्य मत दिएकै हो ।
एकिकृत भएका एमाले र माओबादी दुबैदलका अग्रज नेताहरुको सहमतीमा केपी शर्मा ओली लाई प्रधानमन्त्री बनाउन निशर्त सहयोग गरियो र सफल पनि भयौं । सायद बहुमत नपचेर होला, ओली अलोकतान्त्रिक कदमहरु चाल्दै आफु पनि अलोकतान्त्रिक भएको पहिचान बनाउदै जानुभयो । उहाँका वरीपरि दलाल पुँजीपतिहरुले घेरा लगाउन सुरु गरे । संघियता सहितको संबिधानलाई कार्यान्वयन गर्न बनाइएको संबिधानको मर्म बिपरीत ओली जीले संघीयतालाई कमजोर पार्ने हरेक सम्भव प्रयास गर्दै जानुभयो । प्रदेशहरुलाई संघको फगत एकाई भनेर हेप्न थाले । प्रदेशहरुलाई चलायमान बनाउन र संघीयता स्थापित गर्न चाहिने आवश्यक कानून निर्माणमा ढिलाई गरी संघीयता कार्यान्वयनमा बाधा पुर्याउँदै गए ।
ओलीका अलोकतान्त्रिक व्यवहारहरुको बिरोध पार्टीभित्र हुनलाग्दा उहाँले आफ्नै पार्टी भित्रबाट इतर बिचार राख्ने जोकोहीलाई पनि शत्रुतापूर्वक व्यवहार गर्न थाल्नुभयो । ओली प्रधानमन्त्री रहेको बेला देशमा भ्रष्टाचार लगायत अन्य अपराधका घटनाहरुको संख्या बढ्न थाल्यो । पार्टीभित्र कमरेड प्रचण्ड, माधव नेपाल जस्ता अग्रनी नेताज्युहरुले केपी लाई जवाफदेही बनाउन पार्टी भित्र आवाज उठाउँदा ओली तानाशाही भएर प्रस्तुत हुन थाले । ओलीको तानाशाही प्रवृति तब मात्र आम जनतामा उजागर भयो जतिबेला उहाँले जनताको अभिमतमा आधारित सार्वभौम संसदलाई निर्ममतापूर्व बिघटन गरे वा भनौ एक हिसावले हत्या नै गरे ।
संबिधानको मर्ममाथि कुठाराघात गरेका केपी ओलीलाई सर्वोच अदालतले झापडरुपी संसद पूर्णस्थापना गर्न आदेश दियो । जालझेल र ‘सेटिङ्ग’को आधारमा देश र पार्टी चलाउने महत्वकांक्षा पालेका ओलीका कारण आवश्यकताको आधारमा एकिकृत बामपंथी शक्ति भत्ताभुंग भयो । आम नेपालीले देशमा कम्यिुनिस्ट शक्तिलाई सत्तामा पुर्याएर देशमा स्थिर सरकार खोजेको सपनामाथि कुठाराघात गरिदिएको छ ।
न्यायालयले प्रतिगमन शिरोमणी ओली लाई प्रधानमन्त्री पदबाट मुक्त गरे पश्चात अहिले देशमा ओली प्रबृति बिरुद्ध लडेका शक्तिहरु अर्थात गठबन्धनको सरकार छ । तर प्रतिपक्षमा रहेका नेकपा एमाले अर्थात केपी ओलीले फेरी पनि त्यस संसदलाई कसरी निष्तेज गर्न सकिन्छ भने विभिन्न क्रियाकलापमा सक्रियताका साग लागि परेका छन् । कस्तो बिडम्बनापूर्ण अवस्था छ । नेपाली जनताले यहाँका कम्यिुनिस्टहरु एकजुट भएर चुनावमा होमिँदा नेपाली जनता ठूलो संख्यामा बैचारिक हिसाबले कम्यिुनीस्टलाई साथ दिए र भरोसा पनि गरेका छन् । र त पछिल्लो निर्वाचनमा झण्डै दुई तिहाई बहुमत दिएर कम्यिुनिस्टको बलियो सरकार बनाइ एतिहासिक भूमिका खेल्ने अवसर र मौका दिनुभयो ।
हामी कुनैपनि दल वा बिचार लाई एकछिन आफ्नो मानसपटलबाट टाँढा राखेर सोँचौं त ! के केपी ओलीमा अहंकार र फाँसीवादी प्रबृति हाबी नभएको भए आम जनताको बहुमुल्य मतको अपमान हुन्थ्यो ? पार्टीको बीचार र बामएकतालाई लात मारेर संसद बिघटन नगरेको भए नेपालमा कम्यिुनिस्ट शक्तिलाई कसले तितरबितर गर्न सक्थ्यो र ? नेपाली जनताले केपीको यथार्थ चरित्र देखिसकेको अवस्थामा पनि नैतिकताको कुन आधारमा कम्यिुनिजमको माला जपीरहेका छन् ?
कमरेड प्रचण्डले घोर दक्षिणपन्थी एमालेलाई सुधार गर्दै एकढिक्का बनाइ अगाडी बढ्ने हो भने नेपालमा फेरी बामपन्थीको सरकारले आम नेपाली जनतालाई सेवा प्रदान गर्न सक्दछ भने अभिप्रायले कडा मिहनेत गर्नुभएको थियो । तर एमालेमा ओली पवृतिले उग्रदक्षिणपन्थीको जडा उखेल्न मानेन् । नेपालको सन्दर्भमा, नेपाल कम्यिुनिस्ट पार्टीको स्थापना सन् १९४९ मा नै भएको थियो । सन् १९५१ मा उक्त पार्टीको प्रथम महाधिवेशनले जनवादी क्रान्तिको लाइन पारित गरेको थियो । तर दोस्रो र तेस्रो महाधिवेशनले संशोधनवादी लाई समाते पछि पार्टी बिभिन्न गुटमा बिभाजित भएको थियो । बिस्तारै उक्त पार्टीले महाकाली संधी जस्ता कैयन राष्ट्रघाती सम्झौताहरु गरी देशलाई भडकालोमा धकेल्न हरेक सम्भव प्रयासहरु गर्दै गए र उग्रबामपन्थको लाइनमा पार्टीलाई हाँक्दै गए । पछिल्लो समय केपी ओलीका हरेक कदम उग्रबामपन्थका नमुनाहरु छन् ।
यती भन्दै गर्दा माओवादी आन्दोलनले मात्र नेपालको कायापलट गर्यो भनी मैले भन्न खोजेको होइन । यद्धपी व्यवस्था परिवर्तनको लाईनमा सन् १९९६ मा सुरु भएको माओवादी बिद्रोहले वर्षौ देखिको राजतन्त्रलाई मात्र फालेन अपितु देशभित्र उत्पीडनमा पारिएका हरेक वर्गका जनताका हितमा हुने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संबिधान सभाबाट पारित गरायो । संघीयताको सपनाकार माओवादी आन्दोलनको यात्रामा पनि धेरै उतार चढाव नआएको होइन । तर प्रगितिशिल माओवादीले नेपाली जनताभित्र कम्यिुनीस्ट प्रतिको चाहना र भरोसालाई मध्यनजर गर्दै प्रगतिशिलताको बाटो कहिल्यै छाडेन् । माओवादी जहिले पनि सम्पूर्ण बामपंथी एक हुनुपर्छ भनी लागी रहकोे छ । अहिले पनि माओवादीले अग्रगमन नै रोजेको छ ।
माओवादी आन्दोलनका जननायक प्रचण्ड अहिले पनि देशमा प्रगतिशिल बामपंथीहरु एकढिक्का हुनुपर्छ भन्ने दिशामै आफ्नो उर्जा लगाई रह्नुभएको छ । बिभिन्न कारणवस माओवादीबाट अगलथलग हुनुभएका आफ्ना सार्थीहरुलाई एकजुट हुन् भित्रीमनले अपिल गरिरह्नु भएकै छ । ओली प्रबृतीले पछिल्लो समय आमजनतामा बामपंथी प्रति बढाएको बितृसनाको निर्मलीकरण गर्न लागी पर्नुभएको छ । माओवादीको बैचारिक आधारमा कायम रही फेरी पनि प्रतिक्रियावादीहरुलाई कसरी जवाफ दिने हो त्यता तर्फ अग्रसर रह्नु भएको कसैबाट लुकेको छैन् ।
अहिले जसरी प्रतिक्रियावादी शक्तिहरु खासगरी ओली प्रबृतीका मतियारहरुले देश डुबाउने टेण्डर हात पारेका छन् त्यो अत्याधिक खतरनाक छ । महाकाली बेँच्ने बेला राष्ट्रवाद हराएको थियो । अहिले एमसीसी बिना परिमार्जन गर्न लागेका ओली देशलाई अनिश्चितत्ताको कालो सुरुङ्गमा धकेल्न बितण्डा गरिरहेका छन् । संसद भंग काण्डका खलनायक ओली अहिले संसद छल्न तमाशा गरिरहेका छन् । यस्तो प्रतिकुलताका माझ वर्तमान सत्ता गठबन्धन पनि हरेक पाइला चाल्दा ध्यानपूर्वक कदम चाल्नुपर्ने हुन्छ । देशका हरेक नागरिक सचेत रहनु आवश्यक छ । कम्युनिस्ट बिचारधारामा विश्वास गर्ने हरेक युवाले प्रतिक्रियावादी शक्तिहरुलाई मुहतोड जवाफ दिन तम्तयार भइ बस्नुपर्ने आवश्यकता छ । धन्यवाद लाल सलाम
लेखक बरबरिया धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख र देशकै कान्छो मेयरका रुपमा चिपरिचित छन् ।