एसपी रिपोर्टर
जनकपुरधाम, असोज १७ : साढे ९ वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ । जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आज आइतवार अबेर राति उक्त फैसला गरेको एक कानून व्यवसायीले जानकारी दिए । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आज राति ८ बजे न्यायाधीशद्वयले लेखेका छन् ।
बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो। यसअघि उक्त मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय सुनाएको थियो। उनी हाल नख्खु स्थित कारागारमा छन्। ज्यान मार्ने उद्योगमा ७ वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसूरवार नभएर षडयन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको छ।
यस्तो छ जनकपुर बमकाण्डको फेरिहस्त
तत्कालीन अवस्थामा प्रादेशिक संरचनामा मिथिला राज्य हुनुपर्छ भनेर घटना भएको क्षेत्रमा साहित्यकार, कलाकार, बुद्धिजीवी, विभिन्न संघ–संस्था, युवा क्लबहरू सम्मिलित मिथिला राज्य संघर्ष समिति आन्दोलित थियो । शान्तिपूर्ण तरिकाले आफ्नो माग राज्यसमक्ष पु¥याउन प्राध्यापक परमेश्वर कापडीको संयोजकत्वमा गठित उक्त संघर्ष समितिले एक–एक घण्टा चक्काजाम गरी सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरू गर्ने भनेर पहिलेदेखि नै तय गरेको थियो । १८ वैशाख २०६९ मा संघर्ष समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार जनकपुरको रामानन्द चोकमा सडकमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेको थियो ।
मधेसकेन्द्रित दलहरू सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समग्र मधेस एक स्वायत्त प्रदेशको अडान राखिरहेका बेला आफ्नो ऐतिहासिक पहिचान गुम्ने भन्दै मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गरिरहेका थिए । शान्तिपूर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विस्फोट गराइयो ।
विस्फोटमा परी जनकपुर नगरपालिका– १० बस्ने झगरुलाल दास कथबनिया (४०), जनकपुर ८ बस्ने बिमल शरण (४०), महोत्तरी बथनाहा– ९ तथा हाल जनकपुर बस्ने रञ्जुदेवी झा (४०), जनकपुर– ८ बस्ने सुरेश उपाध्याय (४५) र दीपेन्द्र दास (३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो । विस्फोटनमा परेर ३२ जना घाइते भएका थिए । जनकपुरको इतिहासमा पहिलोपटक यसरी शान्तिपूर्ण आन्दोलनमा कुनै आपराधिक समूहले बम विस्फोट गराएको थियो । जानकी नवमीको उल्लास त्यो वर्ष चित्कारमा परिणत भएको थियो ।
२०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीसहित अरु ६ जनालाई पनि जन्मकैदको सजाय सुनाएको थियो ।
साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा धनुषाबाटै विजयी भएका थिए । बम काण्ड घटना भएपछि उनी मुख्य योजनाकारको आरोपमा पक्राउ परेका थिए । उच्च अदालतको फैसला बमोजिम उनी जेल मुक्त हुने भएको छ । यद्यपि उनीमाथी सञ्चार उद्यमी अरुण सिंहानिया हत्याको अर्को आरोप र सजाय पनि यथावत छ ।
लोकान्तर डटकमको सहयोगमा