एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३१ : शहिदनगर नगरपालिकाको श्री राम हेल्थकेयरमा अबैध कोरोना बिरुद्वको खोप भेटिएपछि पसले सहित दुईजनालाई पक्राउ गरि औषधी पसल सिलबन्दी गरिएको छ । शहिदनगरपालिकाद्वारा जारी बिज्ञप्ती अनुसार स्थानिय औषधी पसलहरुमा कोरोनाको खोप बिक्री भइरहेका सुचनाका आधारमा विहिबारै बसेको बैठकको निर्णय अनुसार नगरपालिकाको वडा नं. ३ स्थित श्री राम हेल्थ केयर, मंजु मेडिकल हल र चौधरी मेडिकल हल सहितको छडके अनुगमन तथा निरिक्षण गरिएपछि सरकारी स्तरबाट निशुल्क लगाइने खोप फेला परेको हो ।
तिनवटै मेडिकल सेन्टरमा अनुगमन गर्दा श्री राम हेल्थकेयरबाट अमेरिकन जनसन एण्ड जनसनको एक भाइल, भेरोसेल चार भाइल र स्ट्रोजेनिक एक भाइल खोप पाइएको र खोप सशुल्क लगाइएको समेत पाइएकपछि हेल्थकेयरलाई सिल गरि सञ्चालन २१ वर्षिय कमलेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका मण्डलले आफुलाई नगरपालिकाको स्वास्थ्यचौकीमा कार्यरत अहेव देवशरण यादवले खोप दिएको बयान दिएपछि यादवलाई समेत पक्राउ गरिएको छ । अनुगमन गरिएका अन्य मंजु मेडिकल हल र चौधरी मेडिकल हल सहितकोमा म्याद गुज्रेका औषधीहरु पाइएकाले त्यस्ता औषधीहरु विक्रि नगर्न नगराउन सचेत गराउदै चेतावनी दिइएको छ । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय यदुकोहाको जिम्मा लगाइएको र उनीहरु दोषि ठहरिए कडा कारवाही हुने समेत नगरपालिकाका मेयर उदय बरबरिया यादवले बताए ।
नगरपालिकाको सुशासन समितिबाट अनुगमन गरिएको समितिमा अध्यक्ष कनहैया मुखिया, नगरप्रमुख यादव, प्रमुख प्रशासकिय अधिकृत सत्रुधन यादव, स्थानिय सुरक्षाकर्मी, स्वास्थ्य शाखा तथा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको थियो ।