एसपी रिपोर्टर
काठमाण्डौं, भदौ २८ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिष्कार गर्ने भएको छ । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् ।
त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क–कसलाई बोलाइएको छ भनेर चासो राखेको र सभामुखले माधव नेपाल सहित संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी गराएपछि एमाले बैठक बहिष्कार गरेका छन् ।
प्रमुख सचेतक भट्टराईले माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका छन् । एमाले र सभामुखको छलफल हुनुपर्ने बैठकका अनेकौं दलका नेताहरुको कुनै आवयश्कता नरहेको एमालेको तर्क छ । एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।
सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामुखलाई सूचना दिएका थिए । २ भदौमा माधव नेपालको नयाँ पार्टी दर्ता भयो, जसले ९ भदौमा मान्यता पायो । त्यसपछि बल्ल सभामुखले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नु नपर्ने बताएका थिए ।
यसलाई लिएर एमालेले आफ्नो दल फुटाउने षड्यन्त्रमा सभामुख समेत प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । त्यसलाई लिएर एमालेले २३ भदौमा शुरु भएको संसद अधिवेशनमा नाराबाजी गर्दै आएको छ ।