एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका पुर्व धनुषा अध्यक्ष प्रविण साहको नेतृत्वमा एक समुह समाजवादी प्रेस संगठनमा प्रवेश गरेको छ । उनीहरुको प्रवेश संगै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीको शुभेच्छुक संगठन समाजवादी प्रेस संगठनको बिस्तार देशमै धनुषाबाट शुभारम्भ भएको छ ।
प्रेस युनियनका साहको नेतृत्वमा युनियनका वर्तमान धनुषा उपाध्यक्ष अकुल साह, पत्रकारहरु ललन साह, भोला यादव, दिनेश साह लगायतका पत्रकारहरु संगठनमा प्रवेश गरेका हुन । उनीहरुलाई पार्टीका प्रदेश २ इन्चार्ज धर्मनाथ साहले टिका लगाएर स्वागत गरेका छन् भने संगठनका प्रदेश २ इन्चार्ज प्रकाश खतिवडाले सपथ ग्रहण गराएका छन् ।

एमालेको फुटपछि बनेको नयाँ दल नेकपा एकिकृत समाजबादीको प्रेस संगठन जिल्ला समितिको बिस्तार र गठन समेत धनुषाबाटै थालेको छ । त्यसक्रममा पत्रकार एवं सञ्चार उद्यमी रुपेश सिंहको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा दिलिप दास, ललन कुमार साह र स्मिता झा, सचिवमा अकुल प्रसाद साह, सहसचिवमा भोला यादव र कोषाध्यक्षमा दिनेश साह रहेका छन् । साथै प्रेस युनियन धनुषाकै पत्रकारहरु प्रभाष कर्ण, सुरेश मुखिया, शुभ नारायण साह, नवीन साह, नरेश ठाकुर, प्रचीन शर्मा फुयांल सहितका समेत संगठनमा प्रवेश गरेका छन् ।
नेताहरुले समाजवाद र स्मृद्वीको यात्रामा आफनो कलम प्रभावकारी रुपमा चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । धनुषाका वरिष्ठ पत्रकारहरु शितल साह, जगदिश साह, उमेशचन्द्र झा, नविन प्रियदर्शी, प्रविण साह तथा संगठनका प्रकाश खतिवडा र अम्बिका दाहाल सम्मिलत कार्यदलले जिल्ला समितिको टुङ्गो लगाएको हो । कार्यक्रममा प्रेस चौतारीका वरिष्ठ पत्रकार हरि पौडेल पनि यसै समुहमा खुलेका छन् ।