एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गरेका छन् । उनले सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीका लागि छिटो नाम दिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सरकारले पूर्णता नपाउँदा सरकारका कामकारवाहीमै असर देखिन थालेको प्रधानमन्त्रीले गुनासो गरेपनि दलहरुले अझै मन्त्रीको नाम दिन नसक्ने र समय लाग्ने बताएको हो ।
गठबन्धनका अन्य दलका नेताहरुले भने पार्टीभित्र छलफल भइरहेको भन्दै केही दिन पर्खिन भनेका थिए । उनीहरुले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भएको स्वीकार गरेपनि कहिलेसम्म मन्त्रीहरुको नाम दिने भन्नेमा ठोस जवाफ नदिएको पौडेलले बताइन् । सर्वाेच्च अदालतको परमादेशपछि कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले आफूसँगै चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले सपथ लिएका थिए । त्यसको एक सातापछि प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेसबाटै उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।
चार मन्त्री र एक राज्यमन्त्रीलाई साथमा लिएर देउवाले दुई महिनादेखि सरकार सञ्चालन गर्दै आएका छन् । दिनहुँजसो गठबन्धनको बैठक बसे पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।