एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ : प्रदेश २ मा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आईटी आर्मीले प्रदर्शन गरेको छ । आइटी आर्मीले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले यसलाई तुरुन्त खारेज गर्नुपर्ने माग गर्दै प्रदेश २ को एकमात्र महानगर विरगंज, सर्लाहीको प्रसिद्ध नगरी ईश्वरपुर र प्रदेशको अस्थायी राजधानी धनुषाको सबैलामा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आईटी आर्मीले भव्य प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा सहभागीहरुले कालो पट्टी बाँधेर देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी लगायतका नारा लगाउँदै मोटरसाईकल रयाली विरगंज महानगरको परिक्रमा, ईश्वरपुरमा राईटरखोरको कदम चौकदेखि सुरु भएको विरोध प्रदर्शन चौलिखा बजारमा पुगी बजार परिक्रमा र सबैलाको भठियन बजार परिक्रमा गरेको थियो ।
एमसीसी राष्ट्रघाती सम्झौता भएकाले यसले मुलुकको साधन–स्रोतमाथि अनुचित कब्जा तथा दोहन गर्ने, देशलाई अस्तव्यस्तता, अस्थिरता एवं द्वन्द्वको भूमरीमा धकेली विनाशको बाटोमा पुर्याउने हुँदा यो सम्झौता कुनैपनि शर्तमा लागू गर्न नमिल्ने आइटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहको भनाई छ ।
धनुषाको सबैलामा दर्जनौं युवाहरु सहित विरोध गरेका आइटी आर्मी धनुषाका संयोजक प्रेम साहले भने, ‘हाम्रो सुझावलाई कुनै पनि किन्तु परन्तुको आडमा अहिलेको अपवित्र सत्ताधारी गठबन्धन र विदेशी शक्ति केन्द्रको कठपुतली सरकारले सदनबाट राष्ट्रहीत विपरीत एमसीसी पास गर्ने दुस्साहस गरेमा हामी देशभर अझ थप सशक्त संघर्ष गर्ने बाध्य हुनेछौं र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेदार स्वयं सताधारी गठबन्धन हुनेछ ।’