संजय साह
जनकपुरधाम, भदौ २१ : जनकपुरधाम स्थित प्रादेशिक अस्पताल आगाडिको मुख्य सडकमा निजी क्लिनीकहरु फोहरको रुपमा संक्रमणको जहर फाल्ने गरेको भएपनि स्थानिय सरकार मुखदर्शक बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाले न त फोहर फेक्न बन्देज लगाउन सकेको छ न त ति जहर रुपी फोहर समयमा व्यवस्थापन गर्न सकेको छ ।
यदी तपाई जनकपुरधामको प्रादेशिक अस्पताल रोड हुदै आवतजावत गरिरहनुभएको छ भने सावधान । कृपया सडकमा थुपारिएका यि फोहरहरु देखि सावधानी र सचेत रहनु होला । किनकी प्रादेशिक अस्पताल आगाडी तथा छेउछाउको निजि क्लिनिकहरुबाट निस्कने यि फोहरहरु समान्य फोहर नभएर सरुवा रोगका ढेरीहरु हुन भन्दा पनि फरक पर्दैन ।
निजि अस्पताल र क्लिनिकहरुबाट उमहानगरपालिकाले उठाउने भन्दै फालिएका यस्ता फोहरहरुमा विभिन्न रोगले ग्रसित विरामीहरुमा प्रयोग भएका इन्जेक्सन, मास्क, अक्सिजन मास्क, सर्जिकल समानहरु सहितका बस्तुहरु हुन्छन जो तपाईको शरिरको सम्पर्कमा आएको खण्डमा अनेकन रोगहरु सर्न सक्ने जोखिम हुन्छ ।
एकातिर विरामीहरुबाट दैनिक हजारौं रुपैया असुल्ने निजि क्लिनीकहरु जथाभावी रुपमा सडकमै यस्ता संवेदनशिल बस्तुहरु फोहरका रुपमा फालेर गैरजिम्मेवारी काम र अपराध गरिरहेका छन भने अर्को तिर ति फोहरहरु महिनौ सम्म नउठाएर जनकपुरधाम उपमहानगरपालिका रोग फैलाउने काम गरिरहेका छन् ।
ति फोहरहरु संगै दैनिक फलफुल बेच्ने फुटपाते व्यवसायीहरु त्यस फोहरबाट उच्च जोखिममा रहेका छन् । उनीहरु क्लिनीकहरुले जथाभावी सडकमा यस्ता बस्तुहरु फालिने गरेको तर कसैैलाई कुनै चासो नरहेको उनीहरु बताउछन् । हप्तौ सम्म यस्ता घातक बस्तु सडकमै रहेपनि सम्बन्धित निकायलाई मानव स्वास्थ्य प्रति कुनै चासो नरहेको उनीहरुको दुखेसो छ ।
नबुझनेका लागि यो समान्य फोहर जस्तै देखिएपनि जानकारहरु भने समाजिक र वातावरणका लागि यस्ता बस्तु र फोहर जहर जस्तै रहेको बताउछन् । डा. रमण मिश्रका अनुसार यस्ता फोहरले संक्रमण फैलाउने मात्र होइन वातावरणमै समेत नाकारात्मक प्रभाव पारेको हुन्छ ।
फोहरलाई समान्य फोहर जस्तै सडकमा फाल्ने निजि क्लिनीकका सञ्चालकहरुको गैरजिम्मेवारी र फोहर दैनिक विहानै नउठाउने जनकपुरधाम उपमहानगरपालिकाको उदासिनताका कारण दैनिक रोगको संक्रमण र वातावरणीय जोखिका बिच सर्वसाधारण र आगन्तुक जनकपुरधाममा जिवन यापन गर्ने गरेका छन् । यस्ता गम्भिर समस्याका विषयमा पनि आमजनता, फोहर फाल्ने क्लिनीक र अस्पताल तथा स्थानिय सरकार सावधानि नअपनाउने हो भने रोगको संक्रमण र वातावरणीय प्रभाव निरन्तर बढदै जाने छ ।