एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २१ : जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सोनलले सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा आएर लोसपामा सनाखत गरेका हुन् ।
सोनल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । सोनलले सनाखत गरेसँगै प्रदेशमा लोसपा सांसदको संख्या १६ पुगेको छ । यसअघि परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, वविता कुमारी, निलमदेवी भूमिहारिन, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानीकुमारी तिवारी र उपेन्द्र महतोले सनाखत गरेका थिए ।
जसपाका कुल ५५ सांसदमध्ये तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका ३० र राष्ट्रिय जनता पार्टी (राजपा) का २५ सांसद थिए । अव तत्कालिन राजपाबाट निर्वाचित प्रदेश २ का सभामुख सरोज कुमार यादवनि आएपछि लोसपामा सांसदको संख्या १७ पुग्ने छ । त्यसै गरि लोसपा तर्फ महोतरी सोनमा गाँउपालिकाकी उपप्रमुख विभा देवी साहले पनि आजै सनाखत गरेकी छिन् ।