एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको घटनामा प्रादेशिक अस्पतालले दोषी माथी कारवाहीको मांग गरेको छ । अस्पताल परिसरमै एक समूहले अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि बिहिवार अप्पन टेलिभिजनले समाचार सम्प्रेशन गरेको थियो ।
ठाकुरलाई अस्पतालको नियमित बैठक चलिरहेका बेला बाहिर बोलाएर सो समूहले लात र मुक्काले कुटपिट गरिरहेको भिडियोमा देखिन्छ ।
अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गर्दै अस्पताल जस्तो संवेदनशिल स्थलमा बाहिरको रिसिबीका कारण आएर दिनदहाडै गुण्डाको शैलीमा चिकित्सक उपर कुटपिट हुनु दुःखद रहेको भन्दै कडा कारवाहीको मांग गरेको छ । यद्यपि पिडितले पनि आफूमाथि कसबाट किन आक्रमण भएको हो भन्ने बारे अनभिज्ञता जनाएका छन् ।
कुटपिटबाट घाइते भएका ठाकुर उपचारपछि घर फर्केका छन् । यता, कुटपिट भइरहँदा अस्पतालमा रहेका सुरक्षागार्डहरु मुकदर्शक बनेको आरोप लागेको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गुण्डागर्दी शैलीमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि त्यहाँ कार्यरत अन्य स्वास्थ्यकर्मी र चिकित्सकहरु त्रसित भएका छन् । उनीहरुले आफुहरु असुरक्षित रहेको बताए ।
अस्पतालका कर्मचारीहरुले कसैले कुनै गल्ती गरेमा कानुनी उपचारको व्यवस्था हुँदाहुँदै गुण्डा शैलीमा सार्वजनिक संस्था भित्र पसेर कुटपिट गर्नु कानुनी राज्यको उपहास भएको बताएका छन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतसँग बुझ्न खोज्दा उनले घटनाप्रति अनभिज्ञता जनाएका छन् । यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको उनले बताए ।