एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ : प्रदेश २ मा नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीतर्फ १३ जना लाग्ने भएका छन् । प्रदेश २ मा एमालेसंग कुल २१ सांसद रहेका छन् । बिहिवार जनकपुरधाम स्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा आफै उपस्थित भएर एमालेका १० जना प्रदेश सांसदले आफु नेकपा एकिकृत समाजवादी रोजेको भन्दै सनाखत गरेका छन् ।
नयाँ पार्टी नेकपा एकिकृत समाजवादी प्रदेश २ का नेता सत्रुधन महतोले १० जना आफै उपस्थित भएर सनाखत गरेको छ भने क्यान्सर पिडित भइ भारतको दिल्लीमा उपचारार्थ डिल्ली प्रसाद उप्रेतीले अख्तियारी पठाएको र दुई जना सांसद भोली पर्सीमा सनाखत गर्ने दावी गरेका छन् ।
महतोको दावी अनुसार एमालेका कुल २१ मध्ये १३ सांसद माधव नेपालको पार्टीमा जाने भएका छन् । १३ मध्ये २ जना सांसद काठमाण्डौमा रहेकोले अर्को दिन सनाखत गर्ने उनले बताए । एमाले विभाजित हुँदा प्रदेशसभामा नेकपा एकीकृत समाजवादी मजबुत स्थितिमा देखिएको छ । उनीहरु भदौ २२ गते सनाखतको समय सिमा सकिएपछि प्रदेश २ सरकारमा समेत सहभागी हुने जनाइसकेका छन् । माधव तिर १३ जादाँ वाँकी ८ जना मात्र ओलीको पक्षमा रहने छन् ।
भौतीक रुपमै उपस्थित भएर आज सनाखत गर्नेहरुमा प्रदेशसभा सदस्य अशोक कुमार यादव, गोविन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो र हसिमा खातनु रहेका छन् । काठमाण्डौं रहेका प्रदेशसभा सदस्य सीता गुरुङ र सुन्दर बहादुर विश्वकर्माले सम्भव भए सम्म आजै नभए अर्को दिन सनाखत गर्ने बताइएको छ ।
यद्यपि ओली पक्षले उनीहरु एमालेको बैठकमा सहभागी भएको दावी गरेका छन् । एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ शुक्रबार बिरगंजमा भएको एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी भएको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।