एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : एसिड आक्रमणमा परेकी २६ वर्षीया आरती साहका पतिलाई जिल्ला अदालत धनुषाले कैद सजायको फैसला सुनाएको छ । अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिव साहलाई १० वर्ष ६ महिना कैद, ६ लाख ५० हजार रुपैयाँ जरिवाना र ६ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नम्बर–३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो । गत कात्तिक २९ गते दीपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित ससुरालीमा गएर सञ्जीवले आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।
घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोगपत्र दर्ता गराएका थिए । दुवैजनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो । यस मुद्दामा यसअघि ६ वटा पेसी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायत अंग कुरुप बनेका छन् ।
एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएका कारण सञ्जीवले आरतीमाथि एसिड प्रहार गरेको आरतीकी आमा सुनिताले बताइन् । केही वर्षअघि पनि सञ्जीवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए ।
प्रदेश २ सरकारद्वारा पाँचलाख सहयोग
जनकपुरधामकी एसीड पीडित आरती साहलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई बिहीबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री राउतले व्यापक आलोचना पश्चात ९ महिना पछि आरतीलाई चेक हस्तान्तरण गरेका छन् । यसअघि, केहि एसीड पीडितलाई घटना लगत्तै अस्पताल पुगेर सहयोग उपलब्ध गराउने मुख्यमन्त्री राउतले आरतीलाई निकै दौडधुप र आलोचना पश्चात उक्त सहयोग गरेका छन् । आरतीलाई उनका पति सञ्जिव साहले दीपावलीका दिन गत कार्तिक २९ गते एसीड प्रहार गरेका थिए । घाइते आरतीको बायाँ आँखा, कान गुमेको छ भने आधा अनुहार, शरीर र हात समेत जलेको छ ।