पुरन रौनियार
जनकपुरधाम, भदौ ३ : प्रदेश २ सरकारको महत्वकांक्षी आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनकपुरधाममा सञ्चालनमा ल्याएको कोभिड विशेष अस्पतालमा कोरोना विरामीहरुको उपचार हुन थालेको छ । कोभिड र पोष्ट कोभिड दुवै विरामीको उपचार भइरहेको अस्पतालमा सवै सुविधा रहेको दावी प्रतिष्ठानको छ । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले प्रतिष्ठानलाई प्रदेश २ कै महत्वकांक्षी आयोजना भन्दै अगाडि बढाइरहेका छन् ।
प्रदेश २ को जनतालाई सहज र शुलभ स्वास्थ्य सेवाका लागि काम गर्ने उद्देश्यले स्थापना गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफनो भवन नपाउदै विभिन्न महत्वकांक्षी कामहरु गर्न थालेको छ । प्रादेशिक अस्पताल जनकपुरधामकै एक समान्य भवनमा काम थालेको प्रतिष्ठान जनकपुरधाममा मनिपाल शिक्षण स्पतालकाका लागि बनेर प्रयोग विहिन रहेको भवनमा सञ्चालन गरेको कोभिड विशेष अस्पतालले कोरोना विरामीको स्तरीय उपचार गर्न थालेको अस्पताल प्रमुख डा. जामुन सिंहको भनाई छ ।
कोरोनाका साथै कोरोनाबाट निको भएर घर गएका पोष्ट कोभिडका विरामीहरुलाई समेत फोन गरि परामर्श तथा उपचार समेत निशुल्क प्रदान भइरहेको दावी डा. सिंहको छ । अहिले सम्म करिव दुईदर्जन विरामीहरु मध्ये गम्भिर प्रकृतीका विरामी समेत निको भएको र रेफर गर्न नपरि सफल उपचार गरेको उनले बताए । दुई जनाको मृत्यु भएकोमा उनीहरुमा कोरोना नदेखिएको, एक मुटु तथा अर्का मधुमेहको विरामी पाइएको थियो ।
अस्पताल प्रशासनले अस्पताल दुई महिनाकै कम समयमा व्यवस्थापन भई सिघ्र सञ्चालनमा आएर सेवा प्रदान गर्न थालेकाले केहि वाँकी रहेका कमी कमजोरीहरु पनि छिट्टै समाधान गरिने बताउछन् । विरामीका कुरुवाहरुले पनि उपचारबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । भाइहरुको उपचारार्थ त्यहाँ रहेका जनकपुरधामका विजय कुमार कर्ण र ललित कुमार महतोले विरामीमा सुधार भएको उपचार पाइरहेको बताए ।
२०७७ कार्तिक २५ गते प्रदेश सरकारको मन्त्री परिषदबाट स्थापना भई राजपत्रमा उल्लेख भएको प्रतिष्ठानमा २०७७ माघ १८ गते उपकुलपती सहितका पदाधिकारी नियुक्ती गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहका अनुसार छोटो समयमै आफनो कार्यालय भवन बिनानै प्रतिष्ठित एक सय शैयाको कोभिड विशेष अस्पतालका निर्माण र चारवटा विषयमा अध्यापनको स्वीकृत पाउनु प्रतिष्ठानको ठुलो उपलब्धी हो ।
२०७७ फागुन ५ मा प्रादेशिक अस्पतालकै एक पुरानो भवनमा कार्यालय सञ्चालनमा ल्याएर काम थालिएको प्रतिष्ठान २०७८ अषाढ ३ मा कोभिड विशेष अस्पताल सञ्चालन गर्न सफल भएको छ भने बिएससी नर्सिङ्ग, बिएन नर्सिङ्ग, बिपिएच पब्लिक हेल्थ र बिएमएलटी विषयमा अध्यापनको स्वीकृती समेत एकैपटक पाइसकेको छ । पुन ः तेस्रो लहरको कोरोना संक्रमण बढदै गइरहेका बेला प्रतिष्ठानका यि विषय र सेवाहरु कति प्रभावकारी हुन्छ त्यो भने समयले बताउँला ।