एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ : चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको आठौ दिनदेखि जारी आमरण अनशनमा क्लोथ बैंक धनुषाले समेत समर्थन जनाएको छ । बैंकका सचिव मनिष झा र कोषाध्यक्ष रुबि झा सहितको टोली अनसन स्थल पुगेर अभियानीहरुको पाँचवटै मांगहरु प्रति एक्वद्वता जनाएका छन् ।
बुधवार प्रदेश २ सरकारका तर्फबाट भौतीक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले अनसनको सातौ दिन अनसन तोडन गरेको आग्रह अनसनकारीले मानेनन् । सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै अभियानीहरु जनकपुरधामस्थित जनकचोकमा आमरण अनशनमा बसेका हुन् ।
चुरे विनाशकै कारण मधेसमा पानीको जलस्तर समेत घट्दै गइरहेको अवस्थामा चुरे विनाश हुनबाट बचाउनु सबैको कर्तव्य रहेको उनीहरुको भनाइ छ । चुरे अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, वन नियमावली २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको र सो कुन आधारमा गरेको हो त्यसको छानबिन हुनुपर्ने, गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेसनमार्फत खरिद गरेको फलफूल बिरुवा खरिदमा गरेको अनियमितताको छानबिन हुनुपर्ने र आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा डिभिजन वन कार्यालय सिरहाले गरेको कार्यमाथि छानबिन हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले आमरण अनशन सुरु गरेका छन् ।
यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु आमरण अनशनमा बसेको चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी रायले बताइन् । अभियानका केन्द्रीय सह–संयोजक रानी राय र धनुषा संयोजक अमन यादव अनशनमा बसेका छन् ।