एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ : चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको आमरण अनशन सातौ दिन पनि जारी छ । प्रदेश २ सरकारका तर्फबाट भौतीक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले आज सातौ दिन अनसन तोडन गरेको आग्रह अनसनकारीले मानेनन् ।
सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै अभियानीहरु जनकपुरधामस्थित जनकचोकमा आमरण अनशनमा बसेका हुन् । मन्त्री यादवले काठमाण्डौं रहेको मुख्यमन्त्रीलाई जनकपुरधाम आउन दुई चार दिन लाग्ने भएकाले आफुलाई फोन गरेर अनसनकारीको मांग सम्बोधनका लागि एक छानबिन समिति बनाएर सत्य तथ्य पता लगाई मांग सम्बोधनको एक हप्ता भित्रै पहलकदमी लिने बताएकाले अनसन तोडन आग्रह गरेका थिए ।
तर अनसनकारी पक्षले मन्त्री यादवको कुरा मानेन । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत आफुहरुको घटना र मांगमा लापरबाह देखिएको र पटक पटक सम्बन्धित विषयमा जानकारी गराउँदा समेत मुख्यमन्त्री अनसुनी गरेकाले उनैले आएर सम्बोधन गरे मात्र अनसन तोडिने बताए ।
चुरे विनाशकै कारण मधेसमा पानीको जलस्तर समेत घट्दै गइरहेको अवस्थामा चुरे विनाश हुनबाट बचाउनु सबैको कर्तव्य रहेको उनीहरुको भनाइ छ । चुरे अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, वन नियमावली २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको र सो कुन आधारमा गरेको हो त्यसको छानबिन हुनुपर्ने, गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेसनमार्फत खरिद गरेको फलफूल बिरुवा खरिदमा गरेको अनियमितताको छानबिन हुनुपर्ने र आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा डिभिजन वन कार्यालय सिरहाले गरेको कार्यमाथि छानबिन हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले आमरण अनशन सुरु गरेका छन् ।
यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु आमरण अनशनमा बसेको चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी रायले बताइन् । अभियानका केन्द्रीय सह–संयोजक रानी राय र धनुषा संयोजक अमन यादव अनशनमा बसेका छन् ।