एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ : प्रदेश २ प्रमुखमा नव नियुक्त भएका कांग्रेस नेता एवं पुर्व सांसद हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । यस क्षेत्रका तत्कालिन चर्चित नेता तथा जनकपुरधाम चुरोट कारखाना सहित तराई मधेशमा दर्जनौ उद्योगको स्थापनाकारका रुपमा परिचित स्व.रामनारायण मिश्रका पुत्र मिश्र प्रदेश प्रमुखमा नियुक्त भएर जनकपुरधाम विमानस्थलमा आउँदा उनलाई भब्य स्वागत गरिएको छ ।
नेपाली कांग्रेसका नेता कार्यक्रताहरु विमानस्थलमा मिश्रलाई माला लगाउन तछारमछार गरेपछि सुरक्षाकर्मीलाई समेत समस्या भएको थियो । विमानस्थल पछि प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख मिश्रले पदभार ग्रहण गर्दै प्रजातन्त्रका लागि भएको सहादतको बलमा आफु आज प्रदेश प्रमुख हुन सफल भएको भन्दै अधिकांश शहिदहरु आफनो पारिवारिक सदस्यरहेकाले शहिदको सम्मान गरिने बताए ।
त्यअघि नेपाली सेनाले उनको स्वागत र सम्मानमा सलामी अर्पण गरेको थियो भने मधेश भवन प्रवेश गर्न अगाडि मिश्रले जनकपुर चुरोट कारखानाको प्रवेशद्वार हालको मुख्यमन्त्री कार्यालय छेउमै रहेको उनको स्व. पिता मिश्रको शालिकमा फुल माला अर्पण गरेका थिए । प्रदेश प्रमुख पद स्वतन्त्रण हुने भनिएपनि प्रदेश प्रमुख नियुक्त हुने व्यक्तिको पार्टीको नेता कार्यक्रताले पार्टीकै नेता झै स्वागत र सम्मान गर्ने होडबाजी नै चलेको छ ।