एसपी रिपोर्टर
काठमाण्डौं, साउन ३२ : प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व सांसद हरिशंकर मिश्रलाई नियूक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियूक्त गर्न सिफारिस गरिएको हो । मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको जनाइएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका उनी नेपाली काँग्रेसका प्रभावशाली नेता नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा गत फागुन ९ गते नियूक्त गरेको थियो ।
प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियूक्त प्रदेश प्रमुख मिश्रलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफूलाई प्रदेश प्रमुखको रुपमा काम गर्ने अवसर दिएकोमा सरकारलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । साथै कार्यकाल अवधिभर नागरिकसँग बस्ने मौका पाएकोमा प्रदेशका हरेक नागरिकप्रति समेत उनले आभार व्यक्त गरेका छन् ।