एसपी रिपोर्टर
जनकपुरधाम, साउन २९ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरू भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

एता नागपञ्चमीको अवसरमा जनकपुरधामको बिसहाराचौक स्थित बिसहारा मन्दिरमा भक्तजनहरुको भिडभाड लागेको छ । नाग देवताको पुजापाठ गर्न बिहानै देखि मन्दिरमा भिडभाड लागेको थियो । साथै जनकपुरधामको तपसीचौक सहितका ठाँउहरुमा नागराजको मुर्ती स्थापना गरि समेत पुजापाठ र दर्शनको व्यवस्था मिलाइएको छ । प्रस्तुत छ केहि तस्वीरहरु ।




