एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : चुरे संरक्षणका लागि विभिन्न दबाब मुलक कार्यक्रम गरेपनि प्रदेश २ सरकारले नसुनेपछि अभियानीहरु आमरण अनसन गर्ने भएका छन् । तराई मधेशको लाइफलाइन चुरेक्षेत्र बिनाश रोक्न र अनावयश्क अवैध रुपमा भइरहेको चुरे दोहन रोक्नका लागि पटक पटक विभिन्न आन्दोलन तथा दबाबमुलक कार्यक्रम गरेपनि प्रदेश २ सरकार नसुनेको आरोप अभियानीहरुको छ ।
यसै क्रममा कब्जा गरिएको बन बुटेनको जग्गा फिर्ताका लागि साउन १ गते विभिन्न मांग राख्दै डिभिजन वन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउन गएका अभियानीहरु माथी डिभिजन प्रमुख सुभाष दासले प्रहरी लगाएर गरेको गरेको दमन घटनाको छानबिनका लागि समेत मांग गर्दा प्रदेश सरकार नसुनेपछि साउन २८ गते विहिवार देखि आमरण अनसन बस्ने अभियानीहरुको चेतावनी छ । चुरे तथा वन जंगल संरक्षण अभियानको ब्यानरमा अभियानीहरु चुरे संरक्षण अभियान चलाउदै आएका छन् ।