एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० : जनकपुरधामका विभिन्न क्षेत्रका अगुवाहरुले जनकपुरधामको एतिहाँसिक धरोहर जानकी मन्दिर महन्थहरुले कब्जा गरेर राखेको आरोप लगाएका छन् । नेपाल पिस विलडिङ्ग (एनपिआई)को आयोजनामा जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाले जानकी मन्दिरका महन्तहरु जातीबादको नाउँमा मन्दिरलाई सखाप पार्न लागेको भन्दै अव त ढोग्न पनि मन नलागिरहेको बताएका छन् ।
बच्चामा महन्थलाई ढोग्थे तर आज उनीहरुको नियत र बदमाशी थाहा पाउँदा र समाचार लेख्दा घिन लागेर आएको उनको तर्क थियो । जनकपुरधाम वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साहले समेत जानकी मन्दिर जनकपुरधामवासीको नभई केहि व्यक्तिको कब्जामा रहेको बताए ।
जानकी मन्दिरमा प्रवेश गर्न पनि पावर र सोर्सले काम गरिरहेको उनीहरुको तर्क थियो । वडा नं. ७ का अध्यक्ष जानकी राम साह र ईन्सेकका प्रतिनिधी राजु पासवान सहितकाले समेत जनकपुरधामको चुनौती र समस्याका विषयमा जानकारी गराएका थिए ।
एनपिआईका सुविन्द्र बोगटी र स्मृती काफलेले जनकपुरधामका विभिन्न क्षेत्रका अगुवाहरुलाई बोलाएर जनकपुरधाम, जानकी मन्दिर र बाह्रबिघघा रंगभुमि मैदान सहितको विकास र समस्या, शहरीकरण र असुरक्षा सहितका विषयमा विचार विर्मश गरेका छन् ।