एसपी रिपोर्टर
जनकपुरधाम, साउन १९ : धनुषाको एक सामुदायिक विद्यालयमा रहेको कम्प्युटर ल्याबबाट दुई वटा ल्यापटपसहित ३२ वटा कम्प्युटर तथा प्रोजेक्टर चोरी भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं २ भूचक्रपुर स्थित श्री जनप्रीय माध्यमिक विद्यालयको ल्याबको ढोका तोडेर गए राति ३२ वटा कम्प्युटर चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विद्यालयमा विभिन्न दातृ सङ्घसंस्थाले विद्यार्थीलाई अध्ययनको लागि प्रदान गरेको दुई वटा ल्यापटप सहित ३२ वटा कम्प्युटर, एक वटा प्रिन्टर र एक वटा प्रोजेक्टर कम्प्युटर ल्याबबाट चोरी गरेको विषयमा प्रहरीले अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । बिहान १० बजे शिक्षकहरू पुगेपछि कम्प्युटर चोरीको घटनाबारे थाहमा पाएपछि १२ बजेतिर प्रहरीमा जानकारी आएको बताउँदै त्यति सामाग्रीहरू लानका लागि सवारी साधनको प्रयोग भएको हुने भएकाले चाँडै पत्ता लाग्ने पनि प्रहरीले जनाएको छ ।
आफन्त नेपालले दुई वर्ष अघि विद्यार्थीको अध्ययनको लागि पहिलो पटक १६ वटा कम्प्युटर प्रदान गरेको थियो । त्यसैगरी अन्य दुई वटा संघसंस्थले १६ वटा कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको विद्यालयले जनाएको छ । सो कम्प्युटरबाट कक्षा ६,७ र ८ का विद्यार्थीहरूले कम्प्युटर सिकाउने गरिएको थियो । विद्यालयलाई दान दिने काम भइरहेको बेलामा यत्रो सङ्ख्यामा कम्प्युटर चोरी हुने घटनालाई स्थानीयवासीले गम्भीर रुपमा लिँदै दोषी पत्ता लगाएर कडा भन्दा कडा कारबाही प्रक्रिया बढाई दिनका लागि माग गरेको छ ।